भद्रपुर । झापाको भद्रपुरमा अन्तर्राष्ट्रिय स्तरको कोशी पाथिभरा इन्डो-नेपाल टी-२० क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा सञ्चालन हुनेछ।

आयोजक भद्रपुर क्रिकेट क्लबले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो। क्लबका अध्यक्ष आदित्य पराजुलीका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिम सहभागी हुनेछन्।

भारततर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी (गुवाहाटी), ग्लोबल स्टार क्रिकेट क्लब (लखनाऊ), क्रिकेट कोचिङ उपाध्याय एकेडेमी (न्यु दिल्ली) र स्नो लायन टिम (सिक्किम) सहभागी हुनेछन्। नेपालतर्फ आयोजक भद्रपुर क्रिकेट क्लबसँगै विराटनगर किंग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स/गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाडले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका संयोजक तथा क्लबका उपाध्यक्ष मनोज सुब्बाले उक्त जानकारी दिएका हुन्।

आठै टिमलाई दुई समूहमा विभाजन गरी लिग ढाँचामा खेलाइनेछ। प्रतियोगिताको विस्तृत खेल तालिका केही दिनमै सार्वजनिक गरिने क्लबका महासचिव वसन्त पोखरेलले बताए।

पुरस्कार संरचना आकर्षक रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। यस्तै उत्कृष्ट ब्याटर र बलरले नगद २५-२५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।

त्यसैगरी उदीयमान खेलाडीलाई नगद ११ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ।

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसमेत राखेर आयोजना गरिएको यस प्रतियोगिताका अवसरमा भारतीय तथा नेपाली खेलाडी र अफिसियलहरूलाई प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकन गराइने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापा, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, उद्योगी टिकाराज ढकाललगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए।