बुद्धशान्ति, माघ १४

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा झापामा भइरहेको दोस्रो संस्करणको अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगितामा गौरादह नगरपालिका र कचनकवल गाउँपालिका क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको गौरादहले २० ओभरमा २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा बुद्धशान्तिले ८ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । गौरादहको तर्फबाट सुरज न्यौपानेले ५४ रन र अर्जुन यादवले ५० रन बनाए । बुद्धशान्तिका लागि आदि हाङ फागोले ४० रन ,कप्तान अर्पण कार्कीले ३४ रन र पारस निरौलाले केही योगदान दिए पनि अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । खेलको म्यान अफ द म्याच गौरादहका सुरज न्यौपाने घोषित भए । उनले नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

दोस्रो खेलमा कचनकवलले गौरीगञ्जलाई ९ विकेटले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । टस जितेर ब्याटिङ गरेको गौरीगञ्ज ४३ रनमै अलआउट भयो । कचनकवलका बलरहरूको घातक प्रदर्शनले गौरीगञ्जका ब्याट्सम्यानलाई दह्रो प्रहार गर्‍यो । कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

४४ रनको लक्ष्य कचनकवलले ४.२ ओभरमा १ विकेटको क्षतिमा सहजै पूरा गर्‍यो । २ ओभर बलिङ गर्दै ८ रन खर्चेर ४ विकेट लिएका कचनकवलका दीपेश बोगटी म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।

भोलिदेखि क्वाटरफाइनलका खेलहरू सुरु हुँदैछन् । पहिलो क्वाटरफाइनल खेल झापा गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल कन्काई र भद्रपुर नगरपालिकाबीच हुने जानकारी बुद्धशान्तिका कोच गोकुल पौडेलले दिएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७५ हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।