झापा। कचनकवल गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयलाई ११ देखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएपछि सँस्थागत विद्यालयले पनि २७ पाठ्यघण्टा पुर्याउनुपर्ने भएको छ ।

शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै सामुदायिक र सँस्थागत दुवैले कक्षा ११ र १२ लाई दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ ।

सरकारले यसअघि पटक–पटक दिउँसो कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएपनि लक्ष्मी माद्यामिक विद्यालय र मोती माद्यामिक विद्यालय देखि बाहेकका अन्य माद्यामिक तह ११/१२ सञ्चालित विद्यालयले लामो समय बितिसक्दा पनि अटेर गरेपछि कार्यपालिकाले जेठ २५ गते निर्णय गरि परिपत्र गरिएको शिक्षा शाखा प्रमुख मनिता बरालले बताउनुभयो ।

“अब पनि अटेर गरेर बिहानै कक्षा चलाउने र २७ पाठ्यघण्टा नपुर्याउने विद्यालयलाई कानूनी कारवाही हुन्छ ।” परिपत्रमा सामुदायिक विद्यालयलाई अनिवार्य रूपमा बिहान १० बजेबाट कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनेपछि २७ पाठ्यघण्टा पुर्याउन सँस्थागत विद्यालयलाई दवाब परेको छ ।

संस्थागततर्फका विद्यालयले बिहानी कक्षा चलाइरहेका छन् । शिक्षा विभागले सबै ११/१२ कक्षा सञ्चालित विद्यालय दिउँसो चलाउन निर्देशन दिएको थियो । विसं २०७३ देखि नै देशभरका विद्यालय कक्षा दिउँसो सञ्चालन गर्ने नीति बनेको थियो ।

आठ वर्ष बितिसक्दा पनि कतिपय विद्यालयले नीति कार्यान्वयनमा बेवास्ता गरिरहेका छन् । दिउँसोको कक्षाले शिक्षण सिकाइमा पाठ्य घण्टा पुराहुने हुँदा सुधार आउने शाखा प्रमुख बरालको भनाइ छ ।

“बिहानी सत्रमा शिक्षकले कक्षा नै थोरै समय लिने समस्या छ”, उहाँले भन्नुभयो, “शिक्षक, विद्यार्थीलाई धपेडी हुने, थाक्ने पनि हुन्छ ।” बिहानी कक्षा चल्ने विद्यालयका कतिपय शिक्षक दिउँसो अन्य विद्यालयमा अध्यापन गर्छन् । बिहानी कक्षा चलाउने विद्यालयले शिक्षक र भवन अभावको कारण देखाउने गरेका छन् । केहीले भवन निर्माण भइसक्दा पनि दिउँसो कक्षा चलाउन मानेका थिएनन् ।

संस्थागत विद्यालयले पनि दिउँसो कक्षा सञ्चालन नगरेर क्याम्पस स्तर कै अध्ययन समय पाठ्यभार दिईरहेका छन् । विद्यालयहरुले पाठ्यभार नै नपुग्ने गरि ११ र १२ मा बिहानी कक्षा संचालन गर्दै ६ घण्टाको अध्ययन समयलाई घटाएर ३ घण्टा ४५ मिनेटमा सिमित गराउँदा प्रत्यक्ष मारमा विद्यार्थी परेकाले सँस्थागत विद्यालयले पाठ्यघण्टा पुर्याउनुपर्ने छ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ११ र १२ का लागि वाषिर्क २७ पाठ्यघण्टा अर्थात वार्षिक आठ सय ६४ कार्यघण्टा पाठ्यभार तोकेको छ । पाठयक्रम विकास केन्द्रले तोकेको समय अनुसार एउटा सत्रमा दैनिक कम्तिमा ५ घण्टा २० मिनेट पढाउनु पर्ने हुन्छ तर विहान पढ्ने विद्यार्थीले ६ बजे देखि १० बजेसम्म ४ घण्टा मात्र समय पाउँछन् । त्यसमा पनि पढाई सुरु र विदा गर्दा पढाई हुने समय साढे तीन घण्टामात्र रहन्छ ।

हेर्नुस गाउँपालिकाको परिपत्र :
Screenshot_20240708_190118_Gallery