पत्रकार भनेको त्यस्तो व्यक्ति हो जसले आचारसंहिता भित्र रही लेख रचना, अडियो वा भिडियो र तस्विरको रूपमा सूचना सङ्कलन गरी समाचारयोग्य रूपमा प्रशोधन गरेर त्यसलाई जनतामाझ पुर्‍याउँछ। पत्रकारले मुख्यतया गर्ने कार्य वा प्रक्रियालाई पत्रकारिता भनिन्छ।

सैद्धान्तिक परिभाषाअनुसार पत्रकारिताको व्यावसायिक मूल्य-मान्यता जानी-बुझी त्यसको ख्याल गरी समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण (वितरण र प्रसारण) जस्ता चारवटै कार्यमा प्रत्यक्ष सहभागी वा सक्रिय हुने व्यक्तिलाई ‘पत्रकार’ भनिन्छ । अथवा पत्रकारिताका माध्यमबाट समाचार वा सूचना प्रवाह गराउने व्यक्ति नै ‘पत्रकार’ हो । यो भनिदैँ आएको सामान्य बुझाइ हो ।समयक्रमसँगै अहिले पत्रिका मात्रै नभइ रेडियो, टेलिभिजन र अनलाइनमाध्यमबाट गरिने सञ्चार कर्मलाई पत्रकार र यसका लागि काम गर्ने व्यक्तिलाई ‘पत्रकार’ नै भनेर बुझिन्छ ।

पत्रकारिता कला हो । यो लेख्न, बोल्न, खिच्न सक्नेले मात्रै गर्ने पेसा हो । जस्तो कि गीत लेख्न सक्नेले लेखेजस्तै, गाउन जान्नेले गाएजस्तै, सङ्गीत भर्न सक्नेले भरेजस्तै । त्यसैले अन्य पेसामा लागेर पनि पत्रकार नै भयो भनेर सङ्कीर्ण हुन आवश्यक छैन । उसले पत्रकारको आवरणमा गलत धन्दा गर्दैन र राज्यलाई बेफाइदा गर्दैन भने के फरक पर्‍यो त ? ऊ पत्रकार नै भइरहन सकिहाल्छ नि ! हामीलाई सबैभन्दा निन्द्रामा पनि तर्साउने बिषय चै बाँकी समय पत्रकारितामा खर्चेर ब्यक्तिगत रुपमा दोहोरो सेवा गरिरहेको पनि त छ नि ?

सारमा लेखन, श्रव्य, दृश्य र तस्बिरका रूपमा सूचना सामाग्री सङ्कलनसहित त्यसलाई समाचारका रूपमा प्रशोधन गरी ‘मिडियाग्राही’ मा पुर्‍याउने व्यक्ति नै खाटी पत्रकार हो । यसैको वरिपरि रहेर खोजिएमा पक्कै पनि नेपालमा हराइरहेका सक्कली क्रियाशील पत्रकार फेला पार्न सकिनेछ । तर के यसको कार्यान्वयनका लागि राजनीति लगायत अनेक दबाब र प्रभावबाट मुक्त हुनसकौँला त हामी ?

सम्पादक, प्रेस प्रतिनिधि वा स्वतन्त्र पत्रकार हुनको लागि तोकिएको योग्यता र मापदण्ड :

(१)सम्पादक वा सँवाददाताको योग्यता :

(क)नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरेको व्यक्ति सञ्चार गृहमा सम्पादक बन्न योग्य हुनेछ।

(ख)नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट माद्यामिक तह उत्तीर्ण गरेको ब्यक्ति सञ्चार गृहको सँवाददाता बन्न योग्य हुनेछ।

(ग)शैक्षिक योग्यता नभएको खण्डमा नेपाल र कुनै पनि दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक वा अर्धमासिक पत्रपत्रिका वा पत्रिकामा समाचार सङ्कलन र सम्पादन गर्ने सम्बन्धमा कम्तीमा दश वर्ष काम गरेको ब्यक्ति सँवाददाता बन्न योग्य हुनेछ।

(२) प्रेस प्रतिनिधि वा अस्थायी प्रेस प्रतिनिधि हुन :

(क) सरकारी मान्यता प्राप्त शैक्षिक संस्थाबाट माद्यामिक तहको परीक्षा उत्तीर्ण गरेको व्यक्ति प्रेस प्रतिनिधि बन्न योग्य हुनेछ।

(ख)शैक्षिक योग्यता नभएको खण्डमा समाचार सङ्कलन र रिपोर्टिङमा कम्तीमा पाँच वर्ष काम गरेको अनुभव भएको व्यक्ति प्रेस प्रतिनिधि बन्न योग्य हुनेछ।

(३) स्वतन्त्र पत्रकार हुन :

(क)सरकारी मान्यता प्राप्त कुनै शैक्षिक संस्थाबाट पत्रकारितामा स्नातक उत्तीर्ण गरेको,पत्रपत्रिकाको सम्पादन वा स्तम्भ लेखनमा दश वा दश वर्षभन्दा बढी समय काम गरेको हुनुपर्ने ।

नेपाली पत्रकारहरूका लागि प्रेस काउन्सिल नेपालले तयार पारेको आचारसंहिता २०७३ को दफा २ (१) मा दिइएको पत्रकार शब्दको परिभाषा अनुसार सबै नागरिक पत्रकार नै हुन् ।जोसेफ शुम्पेटरको भनाइअनुसार त "यही मात्र एक यस्तो पेसा हो जसलाई शुद्धरुपमा बुद्धिजीवी भनेर चिन्न सकिन्छ" । तर पछिल्लो समयमा नेपाली पत्रकारितामा विकृति देखिएको छ । नेपालको सँविधानले सूचनाको हक सम्बन्धी ऐनले सूचना दिन नपर्ने विषय भनी उल्लेख गरेका विषयहरूमा पनि निहुँ खोज्ने, अनुमति नलिई कसैलाई पनि अडियो भिडियो तथा फोटोहरू खिच्न पाइँदैन । 

नेपाल सरकार सूचना तथा प्रसारण विभागले वितरण गर्दै आएको प्रेस कार्ड पित पत्रकारिता अर्थात् Yellow Journalism गर्नेहरुको गलामा थोरै भएपनि एक सय दुई सय रुपैयाँको निम्ति फेसबुक पेज खोलेर प्रेस मिडिया हुँ भन्दै हिड्ने र सञ्चार गृहले विभिन्न क्षेत्रमा मिडिया हाउसको अनुकूलताका लागि योग्यता र क्षमताको मुल्यांकन नगरी थमाएको परिचय-पत्र झुण्ड्याएर पत्रकारिता गर्ने प्रवृत्तिका पत्रकारका कारणले प्रेस काउन्सिल आचारसंहिता र समग्र पत्रकारिताको हुर्मत लिईरहेको छ।अमेरिकी पत्रकारद्वय बिल कोभाच र टोम रोसेन्स्टिअलले आफ्नो पुस्तक ‘इलिमेन्टस् अफ जर्नलिजम’मा भनेका छन्- इन्टरनेटको उपस्थितिले गर्दा एक्काइसौँ शताब्दीमा जोसुकै पत्रकार बन्न सक्छ तर उसले सही अर्थमा सैद्धान्तिक आधारहरूलाई बुझेर व्यवहारमा उतार्ने गरी पत्रकारिता गरेको हुनुपर्दछ । तर यहाँ त्यसो भइरहेको छैन ।

प्रतिस्पर्धामा माथि आउन गलतै भए पनि जे बिक्छ, त्यसैलाई समाचार बनाउने र अरूको टाउको कुल्चेर आफू माथि पुग्ने नियत केही सञ्चार संस्थाहरूमा हाबी भएको जस्तो एउटा पाठक, दर्शक तथा श्रोताको हैसियतले महसुस हुन्छ । आवश्यक ज्ञानको अभाव तथा लहडका आधारमा गरिने पत्रकारिता कहिलेकाहीँ निहित स्वार्थ कारण समाचारका विषयवस्तुमा यर्थाथरुपमा प्रस्तुत नहुँदा यसले समग्र समाजमा नकारात्मक समस्या पैदा गरेको समेत पाइने गरेको छ ।

डाक्टर ,ईन्जिनियर ,पाईलट,शिक्षक,वकिल बन्न शैक्षिक योग्यता तोकिए जस्तै पत्रकारिता गर्न पनि शैक्षिक योग्यतालाई हेर्ने हो भने पत्रकार र पत्रकारिताको उचाइ बढाउन योग्यतम पत्रकारले अहम भुमिका निर्वाह गर्ने थियोे जबकि नाममात्रको पत्रकारले समाचारका विषयवस्तु भन्दा पनि व्यक्तिगत इगोको रूपमा समाचार प्रेषण गर्दा सिङ्गो सँस्था र सँगठनको सत्यपनभन्दा टाढा गएर भावनामा बगेर पूर्वाग्रही रूपमा प्रस्तुत भइदिँदा यसले जनमानसमा नकारात्मक धारणा पैदा गर्ने काम समेत गरेको पाइन्छ ।