झापा।विसं २०७३ देखि नै देशभरका माध्यमिक विद्यालय कक्षा दिउँसो सञ्चालन गर्ने नीति बनेको थियो । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षा जस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गर्दै विद्यालयलाई परिपत्र जारी गरेपनि कचनकवलका माध्यमिक तह सञ्चालित सामुदायिक र नीजि विद्यालयहरुले भौतिक पक्ष र जनशक्तिको अभाव देखाउँदै ११ र १२ कक्षा पढाए बापत खाँदै आएको तलब सुविधा गुम्ने भएकोले बहानाबाजी गर्दै आएपनि नियामक निकायले स्थलगत अनुगमन नगरी खुला छाड्दा विद्यार्थी माथि खेलवाड भएको हो। 

शिक्षा ऐनले कक्षा ११ र १२ लाई माध्यमिक तहमा राखेको धेरै भइसक्यो । तर कचनकवलका सामुदायिक र नीजि विद्यालयहरुले भने क्याम्पस स्तर कै अध्ययन समय पाठ्यभार दिईरहेका छन् । विद्यालयहरुले पाठ्यभार नै नपुग्ने गरि ११ र १२ मा बिहानी कक्षा संचालन गर्दै ६ घण्टाको अध्ययन समयलाई घटाएर ३ घण्टा ४५ मिनेटमा सिमित गराउँदा प्रत्यक्ष मारमा विद्यार्थी परेपनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको आभास सजिलै गर्न सकिन्छ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ११ र १२ का लागि वाषिर्क २७ पाठ्यघण्टा अर्थात वार्षिक आठ सय ६४ कार्यघण्टा पाठ्यभार तोकेको छ । पाठयक्रम विकास केन्द्रले तोकेको समय अनुसार एउटा सत्रमा दैनिक कम्तिमा ५ घण्टा २० मिनेट पढाउनु पर्ने हुन्छ तर विहान पढ्ने विद्यार्थीले ६ बजे देखि १० बजेसम्म ४ घण्टा मात्र समय पाउँछन् । त्यसमा पनि पढाई सुरु र विदा गर्दा पढाई हुने समय साढे तीन घण्टामात्र रहन्छ । एउटा विद्यालयले दुवै सत्रको पढाई गर्दा विहानी सत्रमा पाठ्यभार समय (क्रेटिड आवर) पुगेको छैन । 

कचनकवलका सामुदायिक र निजी विद्यालयले वार्षिक २ सय ५० घण्टा कम पढाएर बालबालिकाको भविष्यमाथि खेलवाड गरिरहँदा समेत नियामक निकाय भने मुकदर्शक बन्दै आएको छ । 

कचनकवलकै दुईवटा सामुदायिक विद्यालयले दिउँसो विद्यालय समयमै १ देखि १२ सम्म लामो समयदेखि कक्षा सञ्चालन गरिरहेको भएपनि नीजि र सामुदायिक विद्यालयले भने पुर्वाधार र जनशक्तीको अभाव देखाउदै बिहानी कक्षा संचालन गर्नुपरेको बताएपनि वास्तविक सत्यता भनेको शिक्षकहरूको तलबी स्वार्थ नै रहेको स्पष्ट देखिन्छ। पाठ्यभार घटाएर बिहानी कक्षा संचालन हुँदा विद्यार्थी मर्कामा मात्रै परेको छैन शैक्षिक स्तर समेत खस्कन पुगेको छ ।