कचनकवल । विद्यालय शिक्षालाई नजिकबाट नियाल्ने स्थानीय सरकारको शिक्षा शाखाले आवश्यकता अनुसार समयमा अनुगमन नगर्दा कचनकवलका सामुदायिक विद्यालयका प्रअ र कर्मचारीमा मनोमानी बढेको पाईएको छ।
कचनकवल-५(पाठामारी)का देवी आवि र बुद्ध आवि दुई आधारभूत विद्यालयका प्रधानाध्यापक शैक्षिक स्तर सुधार्ने भन्दापनि जागिरे मानसिकताले ग्रसित हुँदा दैनिक विद्यार्थी सँख्या घटिरहेपनि कुनै चिन्ता भने रतिभर छैन।"आफ्नो हात,जगन्नाथ " भने झैं आफ्नो पार्टीबाट बनेको सरकार र नेतृत्वलाई सफल बनाउन सरकार निकटका सँगठन र पार्टीले जनमुखी कार्य गरेर पार्टी र सँगठनलाई सबैभन्दा अब्बल बनाउने तर्फभन्दा सँगठन र पार्टीका सदस्यको ध्यान जेसुकै गरेपनि आफ्नै पार्टी र सँगठनको सरकार भएको मनोदशाका कारण दलीय ब्यवस्था अनुरुप निर्वाचित पार्टी नेतृत्वलाई सोचे अनुरुप परिणाम निकाल्न चुनौती बनेको छ।
स्थानीय सरकारको राजधानीका रुपमा चिनिएको कचनकवल-६(बनियानी) कै माध्यमिक विद्यालय लक्ष्मी माविमा भने विद्यालय कर्मचारी प्रधानाध्यापक भन्दा शक्तिशाली रहेको भन्ने देखाउन एउटा हातमा मोबाइल अर्को हातमा चुरोट च्यापेर विद्यालय समयमा कम्पाउण्ड बाहिर एकपछि अर्को पसलको अनुगमनमा हिड्न कतिपनि हीनताबोध राख्दैनन् बरु प्रधानाध्यापकले प्रश्न गरे उल्टै " कति आए कति गए हेडमास्टर " भनेर न्युटनको चाल सम्बन्धि नियम सिकाउँदा यसपटक भने हेडमास्टरले ठुलै साहस गरि चलानी नम्बर १३३ को पत्र सरकार बनाउन आफ्नो हात रहेको भनेर सरकारसँगको नाता बताउने विद्यालय कर्मचारीलाई थमाउँदा कार्यलय भित्रै धुजा-धुजा हुने गरि च्यातेर फ्याक्ने बहादुर विद्यालय कर्मचारी सामुदायिक विद्यालयमा रहेसम्म शैक्षिक उन्नति र प्रगतिको सपना "कागलाई बेल पाक्यो हर्ष न बिस्मत" नै हो ।
निर्वाचित जनप्रतिनिधिको ध्यान आफ्नो कार्यकालमा चुनावी दौडाहामा जनता समक्ष राखेको प्रतिबद्धता जसरी पनि पुरागर्दै विकासको लहर आफ्नो कार्यकालमा सबैभन्दा बढी भएको बनाउने भित्री उत्कट रहेपनि आफ्नै पार्टी र सँगठनले बस्तुस्थिति र ऐन कानुनको पालना नगर्दा जनताले प्रश्न तेर्स्याउनु स्वभाविक मानिन्छ ।
शिक्षण क्षेत्रको समग्र सकरात्मक र नकारात्मक पक्षको अब्बल ज्ञान र अनुभव भएपनि आफ्नो कार्यकालमा जनप्रिय कार्यगर्न आफ्नै सँगठन र पार्टीका नेतृत्वले गम्भीरतापूर्वक नलिँदा सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधिलाई "दाँतमा ढुङ्गा लाग्ने " गरेको प्रष्ट दृश्य देखाउँछ ।
वार्षिक परीक्षा सञ्चालन भईरहेको अवस्थामा प्रधानाध्यापक जस्तो शिक्षक कमाण्डर भने शिक्षकलाई जिम्मेवारी सुम्पेर पार्टीको भेला र बैठकमा सक्रिय सहभागीता जनाउँदा शिक्षक अन्यौलमा मात्रै होइन परीक्षाको लागि लिईएको परीक्षाबाट समग्र कचनकवलको शैक्षिक परिणामले आगामी शैक्षिक स्तरको अवस्थामा कस्तो होला ?
ट्रेड युनियनको अधिकार छ भन्दैमा विद्यालयप्रति भन्दा राजनीतिक पार्टीको कार्यक्रमलाई प्राथमिकता दिई चौक-चौकमा सहभागी हुन थालेपछि उनीहरूको जिम्मेवारीप्रति प्रश्न गर्नु अस्वभाविक पटक्कै होइन।
नजिकै रहेको शिक्षा शाखा मुख्य नियमनगर्ने निकायले शिक्षक र विद्यालय कर्मचारीहरूलाई त्यसतर्फ सचेत नगराउनुको मुख्य कारण पार्टी निकटका शिक्षक कर्मचारी भनेर कि शाखा बाहिर विद्यालय छ भन्ने नबुझेर हो ऐन कानुन र नियमावलीलाई धोती लगाईरहेका।
कुनै पनि सरकारी तलब भत्ता खाने सरकारी विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूले कुनै दल विशेषमा आवद्ध भई सक्रिय सदस्यता लिन कानुनी बन्देज लगाएको भएतापनि कचनकवलका थुप्रै शिक्षक पार्टीको जिम्मेवार पद र तहमा रही काम गरिरहेको छरपस्ट देखिन्छ ।
राजनीतिक दलसम्बन्धी ऐन-२०७३ ,निजामती कर्मचारी ऐन-२०४९ ,शिक्षा ऐन-२०२८ ले शिक्षक ,कर्मचारी सहित तीनै
तहका बहालवाला प्राध्यापक ,शिक्षक ,कर्मचारी लगायतका राष्ट्रसेवकलाई राजनीतिक दलको सदस्य हुन रोक लगाएको छ । त्यस्तै "राजनीतिक दलसम्बन्धी ऐन-२०७३ ले शिक्षक ,प्राध्यापक वा कर्मचारीलाई सङ्गठित वा क्रियाशील सदस्यता लिन समेत बन्देज लगाएको कानुनी प्रावधान हुँदाहुँदै पनि आफ्नो पार्टीको सरकार भनी जनप्रतिनिधिलाई बदनाम गराउने प्रधानाध्यापक र कर्मचारीलाई स्थानीय सरकारको अङ्ग शिक्षा शाखाले स्पष्टीकरण सोध्न अलमलिएको हो वा पत्र च्यातिने खतरा देखेर हो ?