कचनकवल । कचनकवल गाउँपालिकाको आयोजनामा आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेर मनाएको छ । गाउँपालिकाले स्थानीय सरोकारवाला पक्षलाई सभा हलमा उपस्थित गराएर कार्यक्रम सम्पन्न गरेको हो ।
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अतिथिका रुपमा प्रदेश सभा सदस्य भूमि प्रसाद राजवँशी ,कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी ,वडाध्यक्ष ग्यास अजमल मियाँ ,शिक्षा शाखा प्रमुख मनिता बराल रहेको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख सुनिता दाहालले गर्नु भएको थियोे ।
किन मनाईन्छ अन्तर्राष्ट्रिय महिला दिवस ?
विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
महिला हक ,अधिकार ,सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्युयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने ,राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको बीजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्ने सुझाएकी थिइन् । पहिलोपटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया ,जर्मनी,डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको थियो । तर, संयुक्त राष्ट्रसंघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो ।
श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसंघले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो । लैंगिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका साथै सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न ,महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न ,महिलाको सहभागिता ,विभेद ,असमानताका सवालमा र्याली ,जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइदै आएको छ ।
यस वर्ष ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।