झापा । समुदायमा कांग्रेस अभियान अन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रम झापाको भद्रपुर स्थित मेची पुलबाट पूर्वमहामन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला ,महामन्त्री गगन कुमार थापा र विश्व प्रकाश शर्माद्वारा अभियानको शुभारम्भ गरिएको छ।


यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गगन थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताउनुभयो।उहाँले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पार्नुभयो।महामन्त्री थापाले आफूहरु भुईमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताउनुभयो।“जनतामा निराश छ।त्यही निराशामा कसैले व्यापार गर्ने र कसैले फाइदासहित लाभ लिने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर नेपाली कांग्रेसले समाज परिवर्तनसहित निराशामुक्त बनाउनु छ ।”

महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको शहिद राम थापाको शालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकनलगायत गरिएको बताउनुभयो।

कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताउनुभयो।पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो।

अभियान कार्यक्रममा झापा चोकमा चिया संवाद ,कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन ,कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ।संवाद यात्रा झापा ,मोरङ ,सुनसरी ,सप्तरी ,सिरहा ,धनुषा ,महोत्तरी ,सर्लाही ,रौतहट ,बारा ,पर्सा ,चितवन ,नवलपुर ,नवलपरासी ,रुपन्देही ,कपिलवस्तु ,दाङ ,बाँके ,बर्दिया ,कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ।संवाद यात्रा माघ २६ गतेसम्म चल्ने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताउनुभयो।