आर.के.बुढाथोकी । कृष्ण सिटौला शान्ति प्रक्रिया ,संविधान निर्माणका साथै नेपाली राजनीतिको एउटा कालखण्डमा निकै ठूलो योगदान गरेको नेता हुनुहुन्छ । उहाँजत्तिको नेताले उम्मेदवारी दिएपछि इतिहासमा खेलेको योगदानको सम्मान गर्दै सबैले सर्वसम्मत बनाउनुपर्ने थियो।
प्रदेश र प्रतिनिधिसभाको मुख्य प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रियसभामा परिपक्व र सन्तुलित नेतृत्व चाहिन्छ।सिटौलालाई कसैसँग चुनावी प्रतिस्पर्धामा ल्याउनुपर्ने व्यक्ति होइनन्।कोशी प्रदेश राष्ट्रिय सभा निर्वाचनमा एमालेले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ गर्नु भनेको लोकतन्त्रप्रतिको उपहास अनि राजनीतिक स्वार्थका लागि राप्रपाको मतले एक सीट जीत हात पारेको छ।
संविधानको रक्षा गर्नुपर्ने अप्ठ्यारो अवस्थामा बनेको वर्तमान गठबन्धनको निरन्तरता ,संविधानको कार्यान्वयन तथा आवश्यक परिमार्जनका लागि पनि सिटौला राष्ट्रियसभामा आउनैपर्ने थियो।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका बारेमा विभिन्न टीकाटिप्पणी हुने गर्दछ।चाहे राष्ट्रिय राजनीतिमा होस् या दलगत राजनीतिमा सिटौला करिब अढाइ दशक यता केन्द्र विन्दुमा छन्।सिटौला जता ढल्किन्छन् पार्टीको राजनीति उतै मोडिन्छ।
सिटौलाका थुप्रै अवगुणहरू पनि छन्।उनी जोकोही मान्छेलाई तौलिन चाहन्छन्।धेरै बोल्दैनन् तर जोखेर बोल्छन्।जसका कारण उनको भूमिका कस्तो रहला भन्नेमा सधैँ ‘कन्फ्युजन’ रहन्छ।विरोधीलाई चाँडै ‘ट्रिट’ गर्न रुचाउँछन् र समझदारीमा ल्याइहाल्छन्। क्षमताको पहिचान तुरुन्तै गर्न सक्छन् र सोही अनुसारको व्यवहार गर्न इच्छा देखाउँछन्।यद्यपि, कांग्रेसलाई मात्र नभई मुलुकलाई भविष्य दृष्टि दिने काम सिटौलाले गरिरहेका छन्।पार्टीभित्र उनको समन्वयकारी भूमिका सधैँ अग्रगामी रहँदै आएको छ।
सिटौलाको बानी ,आचरण र व्यवहार कसैलाई मन परोस् वा नपरोस् तर उनी देशका लागि ‘क्राइसिस म्यानेजमेन्ट म्यान’हुन भनेर राजनीतिभित्रको कूटनीति बुझ्नेहरूले मजाले बुझेका छन्।देशभित्र वा पार्टीमा आउने कुनै पनि सङ्कटको समाधान गर्न सक्ने खुबी सिटौलामा छ।उनले धेरै पटक सङ्कटमा परेको अवस्थामा ती सङ्कटहरू समाधान गरेका छन्।सङ्कटलाई समाधान गर्ने खुबीका कारणले उनलाई ‘क्राइसिस म्यानेजमेन्ट म्यान’ भनेर चिनिन थालेको छ।
सिटौलालाई यो चाहीं कुराले देश र जनताका लागि हित हुन्छ भन्ने लाग्यो भने दिनरात नभनी खटिने र कार्यान्वयनमा ल्याउन सक्ने खुबी उहाँमा छ।उहाँको अर्को राम्रो बानी के छ भने जति नै रिसाएर वा जंगिएर कुनै व्यक्ति उहाँसँग बहस गर्यो भने सालिनता र धैर्यता देखाउने क्षमता राख्नुहुन्छ।उहाँ अरुको कुरा सुनिसकेपछि बोल्ने गर्नुहुन्छ जसका कारण जोकोही उहाँको आचरणबाट प्रभावित हुन्छन्।
नेपाली कांग्रेसको ‘फस्टम्यान’ नभए पनि उनी देशमा सङ्कट पर्दा ‘क्राइसिस म्यानेजमेन्ट म्यान’ का रूपमा चर्चामा रहन्छन्। सिटौलाको अर्को विचित्रको क्षमता छ।जुन उनी निकट मानिएका व्यक्तिहरूले मात्र पहिचान गरेका छन्।त्यो हो विपक्षीको रणनीति चाँडो बुझ्न सक्नु।विपक्षी पार्टीको रणनीति पहिचान गर्न सक्नु।विपक्षीहरूलाई पनि विश्वासमा लिन सक्नु र अन्ततः कूटनीतिक रूपमा निस्तेज पार्न सक्ने क्षमता सिटौलामा छ।
किनकी गिरिजा प्रसाद कोइराला ,सुशील कोइराला र हालका सभापति शेर बहादुर देउवाले सिटौलाकै सुझबुझलाई प्रयोग गरेर राजनीतिक उचाइ लिएका छन्।हुन पनि यी तीन नेताले सत्ता र पार्टीको नेतृत्व गरिरहँदा देशमा ठुला सङ्कटहरू आइपरे।देश सङ्कटमा पर्दा वा बन्धक रहँदा त्यसलाई खोल्ने चाबी सिटौलाकै हातमा पर्यो।सहजै चाबी खोलिदिए र देशलाई नयाँ दिशामा डोर्याए ।
कांग्रेस नेता सिटौला पार्टीका शीर्ष नेताहरूमा देखिएको खटपटलाई चाँडै हल गर्न सक्ने र विपक्षी पार्टीहरूको रणनीति पहिचान गरेर गोटी चाल्ने सक्ने क्षमता उहाँमा छ।शालीन र कूटनीतिक रूपमा विपक्षीहरूलाई कन्भिन्स गराएर राष्ट्रिय राजनीतिलाई सही दिशामा हिँडाउने काममा उहाँको भूमिका बिर्सन सकिँदैन।
सिटौलाको राजनीतिक जरो झापामा छ।झापा कम्युनिष्ट आन्दोलनको उर्वर भूमि हो।सिटौलाले कांग्रेस मात्र होइन कम्युनिष्टहरुबाट पनि राजनीतिक खेल सिके।झापाका पुराना नेता स्वर्गीय सीके प्रसाईको सहयोगमा सिटौला जिल्लामा स्थापित भए। केशवकुमार बुढाथोकी सिटौलासँगै स्थानीय राजनीतिमा झापामा सँगै थिए।सर्वप्रथम कांग्रेसको खुला अधिवेशन २०४८ सालमा सिटौलाकै गृहजिल्लामा झापाको कलबलगुडीमा भयो।त्यस बखत कांग्रेसको कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई थिए।उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सभापतिमा उठ्न चाहन्थे।गिरिजाप्रसाद त्यस बखत नउठ्दा भट्टराई कांग्रेसको निर्विरोध सभापति बने।भट्टराई पार्टी नेतृत्वमा रहँदा झापाको कांग्रेस जिल्ला सभापति बनेका सिटौला अहिले कांग्रेसको नेतृत्व तहमा छन् ।
यति मात्र होइन सिटौला देशमा सङ्कट आइपर्दा सङ्कट मोचनका लागि मध्यस्थता गर्नेमा पनि निर्णायक हुन्।उनको समन्वयकारी र सन्तुलित भूमिका लोभलाग्दो छ।अरूका कुरा धेरै सुन्ने र आफ्नै शैलीले निर्णय सुनाउने उनको स्वभाव नेपाली राजनीतिमा अरूको भन्दा भिन्न छ।देशमा माओवादी सशस्त्र जनयुद्ध शुरु हुँदै गर्दा तत्कालीन कांग्रेस सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग निकट रहनु नै सिटौलाका लागि नेपाली राजनीतिको क्षेत्रमा सबैले विश्वास गर्ने बाटो बन्यो।त्यसबेला माओवादीसँगको १२ बुँदे सम्झौताको सल्लाहकार (मध्यस्थकर्ता) गर्ने उनै थिए।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउँदै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सिटौलाकै भूमिका महत्त्वपूर्ण छ। कतिपयले सिटौलालाई गिरिजाप्रसाद कोइरालाको ‘कर्मको उत्तराधिकारी’ ठान्ने पनि गर्छन्।जुन शान्ति सम्झौताका बेला उनले खेलेको भूमिकाले स्पष्ट पारेको पनि छ।किनकि उनले नै शान्ति प्रक्रियाको डिजाइन गरेका थिए।गिरिजाप्रसादको भरोसा जिते र विद्रोही माओवादीको पनि विश्वास जितेर शान्ति प्रक्रियालाई अघि बढाएका थिए।
मुलुकमा राजतन्त्रको अन्त्य गरेर देशमा गणतन्त्र ल्याउनमा पनि सिटौलाले खेलेको भूमिकालाई नकार्न सकिँदैन।तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई राजदरबारबाट नागार्जुन दरबार पठाउन सिटौलाले उनीसँग संवाद गरे।त्यसमा पनि उनी सफल भए।त्यसपछि संविधानसभाबाट संविधान बनाउँदा उनले निभाएको नेतृत्वदायी भूमिकाले उनलाई ‘क्राइसिस म्यानेजमेन्ट म्यान’ का रूपमा चिनायो ।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गर्दा उनै सिटौलाले संविधानको केस्रा केस्रा केलाए।संविधानको मस्यौदाकारका रूपमा रहेका उनले संविधानको धारा ७६ (५) को व्यवस्था पुरा नगरी कुनै हालतमा प्रतिनिधि सभा विघटन गर्नै मिल्दैन भन्ने अडान त्यसखबत अदालतले सत्य साबित गरिदियो।संविधान सभाले संविधान बनाउँदा उनै सिटौला संविधानको मस्यौदा समितिको सभापति थिए।उनकै नेतृत्वमा देशको संविधानको हरेक धारा उपधाराले पूर्णता पाएको थियो।
पार्टीमा कस्तो वैचारिक परिणाम दिने र कस्तो नेतृत्व दिने भन्ने विषयमा पनि सिटौला हिस्सेदार रहने देखिएको छ।त्यतिमात्र होइन विभिन्न समूह, गुट वा खेमामा छरिएर रहेका नेताहरूको समायोजन र संयोजन गराउनेमा सिटौलाको भूमिकालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बिहीबार सम्पन्न मतगणनाअनुसार सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन्।सत्तारूढ गठबन्धनका सिटौलाले ५ हजार २९२ मत प्राप्त गरे।एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले भने ४ हजार ५६२ मत ल्याए।उनीहरूबीच ७३० को मतान्तर रह्यो।