झापा । झापा जिल्ला शिवसताक्षी नगरपालिका-१० माइधार निवासी ३३ वर्षीय सरोज शर्मा कार्तिक ९ गते (आइतबार) दिउँसो करिब ३ देखि ४ बजेबीच गाडी सहित घरबाट निस्कनु भएको थियो। तर त्यसयता उहाँको कुनै पनि अत्तोपत्तो नलागेको परिवारजनले बताएका छन्।
उहाँले चलाउनुभएको बागमती प्रदेश-१-०३० च ७१९४ नम्बरको निजी गाडी खोजतलासका क्रममा झापाकै चाराली जंगल क्षेत्रमा जलेको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ। तर गाडीभित्र वा वरपर चालक शर्मा भने फेला नपरेको पुष्टि भएको छ।
प्रहरीले घटनास्थलबाट केही प्रमाण संकलन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। स्थानीयवासीहरूले गाडी पूरै जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ।
शर्मा बेपत्ता भएको सूचना सार्वजनिक भएपछि परिवार, आफन्त र स्थानीयवासी अत्यन्तै चिन्तित छन्।




















