झापा । कचनकवल गाउँपालिकाले आगामी कात्तिक २० र २१ गते देशव्यापी रुपमा सञ्चालन हुने भिटामिन ‘ए’ र जुकाको औषधि वितरण राष्ट्रिय अभियान भव्यताका साथ सम्पन्न गर्ने तयारी गरेको छ।
नेपालभरिका सामुदायिक स्वास्थ्य महिला स्वयंसेवकहरूद्वारा ५ वर्षमुनिका सम्पूर्ण बालबालिकाहरूलाई उक्त दिन भिटामिन ए र जुकाको औषधि खुवाइने कार्यक्रम सञ्चालन हुन लागेको हो। कचनकवल गाउँपालिकाले अभिभावकहरूलाई आ-आफ्ना बालबालिकालाई सम्बन्धित वडाको तोकिएको केन्द्रमा अनिवार्य उपस्थित गराई औषधि खुवाउन आग्रह गरेको छ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार पहिलो दिन छुटेकालाई दोस्रो दिन घरदैलो अभियान मार्फत औषधि खुवाउने व्यवस्था गरेको छ। साथै सो अवसरमा अन्य स्वास्थ्य सेवा पनि उपलब्ध गराइनेछ।
- ६ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए खुवाइने।
- १२ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) खुवाइने।
- ६ महिना देखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा वितरण गरिने।
- १ देखि ५ वर्षसम्मका बालबालिकाको पोषण अवस्था (MUAC Tape द्वारा पाखुरा नाप) परीक्षण गरिने।
- सोही उमेर समूहका बालबालिकाको दादुरा-रुवेला (MR2) खोपको अभिलेख अद्यावधिक गरिनेछ।
गाउँपालिकाले सबै राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, अभियन्ता, विद्यार्थी, व्यापारी, सञ्चारकर्मी, युवा तथा आम नागरिकहरूलाई यो राष्ट्रिय स्वास्थ्य अभियानलाई सफल बनाउन स्वास्थ्य स्वयंसेवकहरूलाई पूर्ण सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।
गाउँपालिकाको नारा “हाम्रो कचनकवल, स्वस्थ कचनकवल” लाई सार्थक बनाउने उद्देश्यका साथ आयोजित यस अभियानमार्फत भविष्यका राष्ट्रनिर्माता बालबालिकाको स्वास्थ्य र पोषण सुदृढ हुने विश्वास लिइएको छ।




















