झापा । भद्रपुर-४ का हेमलाल भट्टराईले सञ्चारकर्मीहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको अशोभनीय र लाञ्छनाजनक टिप्पणीप्रति प्रेस क्लब भद्रपुरले तीव्र आपत्ति प्रकट गर्दै कडा शब्दमा निन्दा गरेको छ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह (भद्रपुर-९) को आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारहरूको समाचार पत्रकार द्रोण अधिकारीद्वारा लेखिएको प्रसंगमा उम्मेदवार हीरा पोखरेलले फेसबुकमा गरेको टिप्पणीमा प्रतिक्रिया दिने क्रममा भट्टराईले गरेको उक्त अभिव्यक्तिलाई क्लबले ‘सञ्चारकर्मीमाथिको मनगढन्ते आरोप र पत्रकारिता पेशाको अपमान’ मानेको छ।

क्लबका अध्यक्ष राजबाबु शंकर र महासचिव डिल्लीरमण नेपालले संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ- “भट्टराईको अभद्र टिप्पणीले सम्पूर्ण सञ्चारकर्मीमाथि आक्षेप लागेको छ। उक्त टिप्पणी तत्काल हटाई सार्वजनिक माफी माग्न आग्रह गरिएको छ, अन्यथा कानूनी उपचार खोज्न क्लब बाध्य हुनेछ।”

विज्ञप्तिमा उल्लेख गरिएको छ कि प्रकाशित समाचारप्रति असहमति राख्ने वैधानिक प्रक्रिया हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकारहरूलाई बदनाम गर्न खोजिएको कदम अस्वीकार्य छ र आगामी दिनमा यस्ता घटनामा संलग्न जो कोहीमाथि पनि क्लबले कानूनी कारबाहीको माग गर्ने चेतावनी दिएको छ।