झापा । मेचीनगर नगरपालिकाको कार्यपालिका बैठकले यसअघिको निर्णय सच्याउँदै निष्काशनमा परेका सबै अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई पुनःवहाली गर्ने निर्णय गरेको छ।

असोज २९ गते बसेको कार्यपालिका बैठकले संघीय सरकारको परिपत्रका आधारमा कात्तिक १ गतेदेखि लागू हुने गरी ती कर्मचारीहरुलाई हटाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि नगरपालिकाको सेवा प्रवाह प्रभावित बनेको थियो भने कर्मचारीहरु आन्दोलित भएका थिए।

राजनीतिक दलहरु र कर्मचारी प्रतिनिधिहरूको सुझावपछि आज बसेको कार्यपालिका बैठकले १७ कात्तिकदेखि पुनःवहालीको निर्णय गरेको हो। यससँगै नगर र कर्मचारीबीचको केही समयदेखिको तनाव अन्त्य भएको छ भने अचानक रोजगारी गुमाएका कर्मचारीले न्याय र सम्मान पाएका छन्।

नगरपालिका र कर्मचारीबीच भएको सहमतिअनुसार लोकसेवा आयोगबाट दरबन्दीमा नयाँ कर्मचारी नियुक्त भएमा हाल कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले आफ्नो पद खाली गर्ने र भविष्यमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त हुन सक्ने व्यवस्था मिलाइएको छ।

पुनःवहालीपछि सबै कर्मचारी पूर्ववत रूपमा आफ्नो जिम्मेवारीमा फर्किएपछि नगरपालिकाको दैनिक सेवा प्रवाह सुचारु बनेको छ।