झापा । भद्रपुर नगरपालिका-१ का वडाअध्यक्ष रामप्रसाद अधिकारी हिजो साँझ मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका छन्।

हिजो साँझ करिब ५ः४० बजे मेची राजमार्गको चारआली-केचना सडक खण्ड अन्तरगत भद्रपुर-३ देउनियाँ पुल नजिक दुर्घटना भएको हो। भद्रपुरबाट पृथ्वीनगरतर्फ जाँदै गरेको अन टेस्ट सिटी सफारी ले दाहिने मोड लिने क्रममा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८०३६ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक तथा वडाअध्यक्ष अधिकारीको टाउको र नाकमा गम्भीर चोट लागेको बताइएको छ। घाइते अधिकारीलाई तत्काल उपचारका लागि ओमसाई पाथिभारा अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

यता सिटी सफारी चालक भद्रपुर-४ निवासी ४२ वर्षीय विशाल चेम्जोङ भने सकुशल रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाले जनाएको छ।