झापा । कचनकवल-३,डाँगीवारीमा आज राति जलथल जँगलबाट निस्किएका तीनवटा हात्तीले धर्म प्रसाद पोख्रेल,आमवती माझी,ताला मुर्मु र कृष्ण प्रसाद निरौलाको घर भत्काउनुका साथै बर्षभरि परिवारलाई भरपोषणका लागि घर भित्र थन्काएको सम्पूर्ण धान र चामलमा हात्तीले क्षति पुर्याएको छ।
मानव र जँगली हात्ती बीचको लामो समयदेखिको द्वन्दले भौतिक तथा मानवीय क्षति घटिरहेको छ।कचनकवल ,बाह्रदशी ,हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिका भित्र जलथल जंगलबाट निस्कने जँगली हात्तीले दैनिक मच्चाईरहेको बितण्डाले नागरिकको दैनिकी पीडादायी बनिरहेको प्रति तीनै तहका सरकारले औपचारिक छलफल समेत नगर्दा नागरिकको बाच्न पाउने अधिकार कुण्ठित हुदै गएको छ।
ग्रामीण क्षेत्रमा पर्ने कचनकवल ,हल्दिवारी ,बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिका भित्रका नागरिकको चैनको निन्द्रा हराउदै गएको छ । कतिखेर घरमा कि बाटोमा हिड्दा हिड्दै हात्तीको निशानामा परिने हो पत्तो हुन छाडेको छ । गरीबका झुप्रामा बर्षभरि परिवारको मुहारमा खुशी भर्न राखिएको अन्नपात कतिखेर हात्तीको आहारा बन्ने हो टुङ्गो हुदैन ।
जलथल जँगलको वरिपरि सौर्य बिधुतीय तारवार गरिएपछि केही बर्षसम्म नागरिकले राहत मिलेपनि चोरी शिकारी र अराजक तत्वहरुका कारणले धेरै जस्तो ब्याट्री र तारमा क्षति गर्नका साथै अतिरिक्त ब्याट्री र तारबार भने प्राविधिक समस्याका कारणले काम नलाग्ने भएपछि अहिले सौर्य बिधुतीय तारवार नाममा मात्रै सिमित रहेको छ ।
जलथल जँगलको हात्ती तारवार मैले बनाएँ भनेर गत निर्वाचनको समयमा चुनावी मसला बनाएर जनताको भावनालाई आफ्नोतर्फ पारेर माननीय बनेका राजनीतिक दलका नेतृत्वहरुले समयमा मर्मतसम्भारका लागि आवश्यक बजेट प्रबन्ध गर्न कस्ले रोक्यो? प्रचलित नेपाली उखान "काम गर्ने कालू,मकै खाने भालु" भएकै कारणले जलथल जँगलको सौर्य तारवारले मर्मत नपाएको त होईन?हिजो सौर्य तारवारको जन्मदाता हामी हौँ भनेर चिच्याउने राजनीतिक दलका नेताले आँफुले जन्म दिएको सन्तान लथालिङ्ग भईरहँदा अहिले किन रमिते ?
झापा क्षेत्र नम्बर-३ का सँघीय सरकार जनप्रतिनिधि ,प्रदेश सरकारका जनप्रतिनिधि ,स्थानीय सरकारका जनप्रतिनिधि ,सामुदायिक वन उपभोक्ता समितिका नेतृत्वले जलथल जँगलबाट निस्कने मानव र हात्ती बीचको द्वन्द समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना र कार्यक्रम सरोकारवाला सबै निकायसँग समन्वय मार्फत द्वन्द न्यूनीकरणमा पहल र छलफललाई तिब्रता प्रदानगर्नुको सट्टा कहिलेसम्म रमिते बन्ने?
मानव र हात्ती बीच भएको द्वन्दका कारण दैनिक लाखौंको भौतिक र मानवीय क्षतिबाट नागरिकलाई बचाउने ग्यारेन्टी नगरेसम्म पृथ्वीको एकमात्र भीमकाय जनावर नागरिकले आफ्नो जनधनको सुरक्षाका लागि घेरिएको बिधुतीय तारवारमा परेर अबका केही बर्षमै हात्तीको अस्तित्व नसकिएला भन्न सकिने अवस्था रहेन।रातभरि कतिदिन परालको आगो बालेर जागै बस्नु भनेर हात्तीको क्षतिबाट भौतिक र मानवीय क्षति रोक्न एकमात्र वैकल्पिक उपायका रुपमा देखिएको बिधुतीय तारवार परम्परागत शैलीमै २२० भोल्टको करेन्ट प्रवाह गरेको खण्डमा के अहिलेसम्म देखिएको जस्तै अवस्था बन्ला ? सरोकारवाला निकायले तत्काल नागरिक जागै बस्नुपर्ने बाध्यताको अन्त्य गर्न सबैखाले सँयन्त्रलाई एकीकृत समन्वयको भुमिका निर्वाह नै सच्चा देश र समाज बनाउन निक्लिएका राजनीतिक पाटीका नेतृत्वको लागि अवसर हो ।