झापा, असोज ३० गते । झापा जिल्लाको गौरदह नगरपालिका-९ खजुरबारीमा आज दुःखद घटना घटेको छ। माछा मार्न भनी खोलातर्फ गएकी चार बालिकामध्ये तीन जनाको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

असोज ३० गते दिउँसो करिब १:१० बजे खजुरबारीकी अन्जु मगरकी छोरी ९ वर्षीया स्विकृती मगर, ७ वर्षीया सुस्मा मगर र सोही स्थानकी रोमन (मोते) परियारकी ११ वर्षीया रोश्नी परियार कृष्ण खोलामा जमेको पानीमा डुबेर मृत्यु भएको हो। उनीहरू सँगै गएकी राजकुमार राईकी १० वर्षीया युनिसा राईले घटना देख्नासाथ अभिभावकलाई जानकारी गराएकी थिइन्।

अभिभावक र स्थानीयले तत्कालै तीनै जनालाई खोलाबाट बाहिर निकाले पनि उनीहरूको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी स्थानीयवाट अस्थायी प्रहरी चौकी बैगुनधुरामा दिइएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षकको कमाण्डमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।