नेपाली कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार कृष्णप्रसाद सिटौलालाई बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर काठमाडौँबाट हिँडिसकेका छन् । सत्तारुढ गठबन्धनको भागबन्डा अनुसार कोशीमा अन्यतर्फ काँग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो । माओवादीले महिलामा ओखलढुङ्गाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान गरेका सिटौला पूर्व गृहमन्त्री पनि हुन् । उनले २०७२ को संविधान निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।काँग्रेसले कोशीमा सिटौलासहित अन्य प्रदेशका उम्मेदवार पनि करिब टुङ्गो लगाएको छ । मधेस प्रदेशमा आनन्दप्रदान ढुङ्गानाको नाममा सहमति जुटेको बताइएको छ ।