कचनकवल । झापाको कचनकवल गाउँपालिका वडा नं ३ मा अवस्थित श्री मोती माध्यमिक विद्यालयले स्वास्थ्य परामर्श कक्षको समुद्घाटन तथा अन्य विविध कार्यक्रम भव्यताका साथ समापन गरेको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषलाल राजवंशीको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता कचनकवल गाउँपालिका प्रमुख श्री कालेन्द्र प्रसाद सिंह राजवंशीले गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापक श्री छविलाल बस्नेतले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कचनकवल गाउँपालिका, वडा नं ३ का वडा सदस्यहरू मेघलाल राजवंशी, विष्णुमाया प्याकुरेल, शोभा सुन्दास तथा वि. व्य. स. सदस्यहरु र पि. टि. ए.का पदाधिकारीहरु, स्थानीय स्वास्थ्यकेन्द्र पथरियाका प्रमुख विजय कुमार झा, अभिभावक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।


विद्यालयले गत शैक्षिक वर्षमा शैक्षिक तथा व्यवस्थापकीय सुधारमा झापा जिल्लामा उत्कृष्टता हासिल गरी प्राप्त रु ५ लाखको प्रोत्साहन अनुदान रकम मध्येबाट रु ५०,००० ले स्वास्थ्य परामर्श कक्ष निर्माण गरिएको, रु ३०,००० ले अभिभावक गुमाएका २२ जना छात्रछात्रालाई न्यानो कपडा (ट्र्याक सेट) वितरण गरिएको र बाँकी रकमबाट शैक्षिक अवलोकन भ्रमण, अभिभावक शिक्षा कार्यक्रम, शिक्षक तथा वि. व्य. स. लाई क्षमता अभिवृद्धि कार्यक्रम, कमजोर सिकाइ क्षमता भएका बालबालिकाको लागि अतिरिक्त कार्यक्रम आदि सञ्चालनमा रहेको सोही विद्यालयका प्रधानाध्यापक छवि बस्नेतले बताउनुभयो ।


आज उद्घाटन गरिएको विद्यालय स्वास्थ्य परामर्श कक्ष किशोरी महिनावारी स्वास्थ्यलाई ध्यानमा राखी निर्माण गरिएको, विद्यालयका महिला शिक्षकहरु, जेन्डर फोकल पर्सनको नेतृत्वमा यो कार्यक्रम चल्ने तथा स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, महिला स्वयंसेवीको नियमित सेवा रहने कुरा उहाँले बताउनुभयो ।


उक्त कार्यक्रममा बोल्दै, सबै मा. वि. हरूमा यस्ता स्वास्थ्य परामर्श केन्द्रको आवश्यकता रहेको कार्यक्रमका प्रमुख अतिथि कालेन्द्र प्रसाद सिंह राजवंशीले बताउनुभयो ।