कचनकवल । झापाको दक्षिणी गाउँपालिका कचनकवल गाउँकार्यपालिको असोज २४ गतेको निर्णयले गाउँपालिका भित्रका स्थानीय बजारहरुमा बिक्रीका लागि ल्याइने भारतीय माछालाई कार्तिक १ गते बुधबारदेखि स्थानीय सरकारले पुर्ण रोक लगाउन सूचना प्रेषण गरिरहेको छ ।
कचनकवल गाउँपालिकाको केचना,घेरावारी र पाठामारी नाकाबाट बिक्रीका लागि अबैध रुपमा ल्याइने भारतीय माछा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पटकपटक नियन्त्रणमा लिएर नष्ट गर्नुका साथै रोक लगाउँदै आएको थियोे। स्थानीय सरकारले माछापालक कृषकलाई नेपालकै पोखरीबाट उत्पादन गरिएका माछालाई बिक्री बितरणमा प्रोत्साहनका लागि स्थानीय सरकारले अनुदान समेत दिँदै आएको थियोे ।
कचनकवलको पुरानो बजारको रुपमा रहेको बनियानीमा शुक्रवार र सोमबार बजार लाग्ने र अन्य दिन पनि गुद्री बजार लाग्ने गरेको छ । नेपालमा उत्पादन भएको माछा भन्दा प्रतिबन्धित भारतीय फर्मालिन युक्त बरफमा ल्याईने माछाले यहाँको उपभोत्ताको मागलाई पूर्ति गर्न नसक्ने र भारतीय माछाको मूल्य सस्तो भएकोले भारतीय माछा नै खरिद गर्न बाध्य भएको स्थानीय रङ्ग लाल राजवँशी बताउँछन् । बनियानी बजारमा ३ सयदेखि ४ सय रूपैयाँसम्मको माछा किन्न पाईन्छ ।
भारतबाट कचनकवल भित्र्याईएका माछा केचना,पथरिया,पाठमारी,बालुवाडी र बनियानीका बजारहरुमा व्यापारीहरूले खुला रुपमा फिजाएर बेचेपनि प्रहरी र सरोकारवाला निकायले कुनै रोकटोक गरेको पाईन्न । धेरै जसो माछा मरेको र आईसमा राखेर ल्याईएका माछा विक्री गर्ने गरेको पाईएको छ। जिउँदो माछामा प्रोटिन हुन्छ तर मरेको माछामा प्रोटिन ह्रास हुनुको साथै फर्मालिनमा प्याकेजिङ गरिएको हुने भएकोले मानव शरिरमा समेत हानी पुर्याउने निश्चित छ ।
सम्बन्धित निकायबाट प्रभावकारी रुपमा बजार अनुगमन नभएकोले व्यापारीहरूले मरेको माछा बेचबिखन मात्रै होइन उपभोक्तालाई ढकको नाप सन्तुलन बनाउन लगाईएको तल्लो भागेको सिसा समेत निकालेर ठगी गर्ने गरिएको छ।
चाडपर्व नजिकिँदै जाँदा झारा टार्न निक्लने सरोकारवाला निकायको बजार अनुगमन हात्तीको देखाउने दाँत मात्रै भएको दृश्यले स्पष्ट देखाउँछ।ढिलै भएपनि स्थानीय सरकारले बरफमा राखिएको फर्मालिन युक्त माछाको नियन्त्रणले नागरिकको स्वास्थ्य बचाउन गम्भीर भएकोमा आम नागरिकले पनि सरकारको अग्रगामी निर्णयको स्वागत ,सहयोग र उपभोक्ताले समेत उपभोग्य बस्तुमा सचेत र जागरुक हुन जरुरी छ। अस्वस्थकर माछाको प्रतिबन्धले स्वास्थ्य मात्रै नजोगिएर स्वदेशी उत्पादनमा समेत कृषकलाई उर्जा मिल्ने छ।