झापा । कचनकवल गाउँपालिकाको मुख्य बजार बनियानी चौकस्थित ‘दाह्री बा को सेकुवा कर्नर’ले प्राकृतिक विपद बाढी प्रभावित नागरिकको राहतका लागि अनौठो र अनुकरणीय सहयोग अभियान अघि सारेको छ।
होटल सञ्चालक निरज दाहालले देशमा उत्पन्न अप्रत्याशित तथा विध्वंसात्मक विपद्को समयमा राज्य र पीडित नागरिकप्रति आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने उद्देश्यले एक दिनको खाजाको आम्दानी राहत कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्।
होटलले सार्वजनिक गरेको योजनाअनुसार २०८३ साल भदौ १५ गते एक दिन ग्राहकबाट प्राप्त हुने रु. २५० सम्मको खाजा/नास्ताको बिलबराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताईएको छ।
अभियानको मूल सन्देश नै ‘खाजाको बिललाई सहयोगमा रूपान्तरण गर्ने’ रहेको होटल सञ्चालक दाहालले बताएका छन्। ग्राहकले आफ्नो रोजाइको खाजा तथा दाह्री बा को सेकुवाको स्वाद लिँदै विपद् प्रभावित नागरिकका लागि राहतमा समेत योगदान गर्न सक्नेछन्।
होटलका अनुसार उक्त दिनको रु. २५० सम्मको बिल बराबरको रकम संलग्न FonePay QR Code मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
विपद्को समयमा ठूलो सहयोग मात्र आवश्यक हुन्छ भन्ने होइन, सानो योगदान पनि सामूहिक सहभागिताबाट अर्थपूर्ण बन्न सक्छ भन्ने सन्देशसहित अघि सारिएको यो अभियान स्थानीय व्यवसायले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा रूपान्तरण गरेको उदाहरणका रूपमा देखिएको छ।


















