काठमाडौँ - त्रिशूली नदीमा जलसतह पुनः बढेपछि नागढुङ्गा-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा सडक कटान भई यातायात अवरुद्ध भएको छ।
मुग्लिन प्रहरीले नदीको बाढीले सडकलाई तलबाट कटान गरेपछि उक्त क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। सडकको केही भाग कटानमा परेकाले आवागमन जोखिमपूर्ण बनेको प्रहरीको भनाइ छ।
यसअघि आज बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचनापछि काठमाडौँ-मुग्लिन तथा मुग्लिन-नारायणगढ सडकखण्डमा केही समय यातायात रोकिएको थियो। जोखिम तत्काल नरहेको सूचना प्राप्त भएपछि सवारी सञ्चालनमा ल्याइए पनि त्यसलगत्तै त्रिशूलीमा जलसतह पुनः बढ्दा कृष्णभीर क्षेत्रमा सडक कटान भएको हो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा त्रिशूली नदीको जलसतह खतराको तहभन्दा करिब तीन मिटर माथि पुगेको छ। सडक अवरुद्ध भएपछि विभिन्न स्थानमा यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्।
भोटेकोशीको बाढी त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा प्रवाहित भइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
प्रहरीले यात्रुहरूलाई नदी तथा जोखिमयुक्त सडक क्षेत्रमा अनावश्यक रूपमा नबस्न र सुरक्षाकर्मी तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ। उद्धार, खोज तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीलाई समेत नदीको बहाव र सडकको अवस्थालाई मध्यनजर गर्दै विशेष सावधानी अपनाउन भनिएको छ।
लगातार बदलिँदो नदीको बहावका कारण सडकको अवस्था समेत अस्थिर रहेकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित सुरक्षा निकायबाट पछिल्लो अवस्थाबारे जानकारी लिनु आवश्यक देखिएको छ।


















