बनियानी। झापाको कचनकवल गाउँपालिका-६ स्थित बनियानी बजारको कार्की चोकमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।

बुधबार साँझ करिब ६ः३० बजे बनियानीबाट सीतागढीतर्फ जाँदै गरेको मे १ ज २८२८ नम्बरको पिकअप र सोही दिशातर्फ गइरहेको प्रदेश १-०१-०१४ प ८३३८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल गाउँपालिका-७(सीतागढी) निवासी ब्रह्मलाल राजवंशीका ३० वर्षीय छोरा पवनलाल राजवंशी र मोटरसाइकलको पछाडि सवार सोही स्थानका मागीलाल राजवंशीका २८ वर्षीय छोरा धनकुमार राजवंशी गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार पवनलालको टाउको, निधार र बायाँ खुट्टामा चोट लागेको छ भने धनकुमारको टाउको र बायाँ खुट्टामा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको बताइएको छ।

घटनालगत्तै स्थानीयवासीले उद्धार गरी घाइतेलाई बनियानीस्थित आधारभूत अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि ॐ साई पाथिभरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक दीपक दुलालको कमान्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल घटनास्थलबाट र पिकअप बजारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयका अनुसार पिकअप चालक कचनकवल-६, बनियानी निवासी ३८ वर्षीय हरित मण्डल दुर्घटनापछि सुरुमा फरार भएको बताइएको छ। तर, पछि प्रहरीले पिकअप नियन्त्रणमा लिएपछि आफू पनि घाइते भएको बताइएको छ।

दुर्घटनाको वास्तविक कारण र घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।