झापा, कचनकवल। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय झापाले सञ्चालन गरेको विद्यालय नर्सिङ सेवा गतिविधिको मूल्यांकनमा कचनकवल गाउँपालिका-६, बनियानीस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय ‘स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय’का रूपमा छनोट भएको छ।

उक्त उपलब्धिको सम्मानस्वरूप विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेत र विद्यालय नर्स अम्बिका विश्वकर्मालाई स्वास्थ्य कार्यालय झापाले प्रमाणपत्र हस्तान्तरण गरेको हो।

विद्यालयमा स्वास्थ्य शिक्षा, किशोर-किशोरीमैत्री सेवा, व्यक्तिगत सरसफाइ, पोषण सचेतना, मानसिक स्वास्थ्य, प्राथमिक उपचार, सुरक्षित विद्यालय वातावरण तथा स्वास्थ्यसम्बन्धी व्यवहार परिवर्तनका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेको आधारमा विद्यालयले यो सम्मान प्राप्त गरेको जनाइएको छ।FB_IMG_1783428450057

यो उपलब्धिले विद्यालयको शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र स्वास्थ्य, अनुशासन र जीवनशैली विकासप्रतिको प्रतिबद्धतालाई समेत पुष्टि गरेको छ। विद्यालय नर्सिङ सेवा केवल उपचारमा सीमित नभई विद्यालयभित्र स्वास्थ्य संस्कृतिको विकास, रोगको रोकथाम र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण माध्यम बनेको मूल्यांकनले देखाएको छ।

प्रधानाध्यापक छविलाल बस्नेतले यो सम्मान सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा विद्यालय नर्सको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा विद्यालयलाई अझ सुरक्षित, स्वस्थ र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी विद्यालय नर्स अम्बिका विश्वकर्माले विद्यालयमा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी, विद्यार्थीमैत्री र दीगो बनाउँदै स्वास्थ्य प्रवर्द्धनात्मक अभ्यासलाई निरन्तरता दिने बताउनुभयो।IMG-20260707-WA0003

स्वास्थ्य कार्यालय झापाको यो मूल्यांकनले विद्यालयमा स्वास्थ्य र शिक्षाबीचको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउँदै अन्य विद्यालयहरूका लागि पनि लक्ष्मी माध्यमिक विद्यालयलाई अनुकरणीय नमुनाका रूपमा स्थापित गरेको विश्वास गरिएको छ।