बनियानी । वातावरण संरक्षण र हरित विद्यालय निर्माणको उद्देश्यलाई आत्मसात गर्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बनियानीले सामाजिक उत्तरदायित्वअन्तर्गत श्री लक्ष्मी माध्यमिक विद्यालयलाई शोभनीय प्रजातिका बिरुवा हस्तान्तरण गरेको छ।
संस्थाका शाखा प्रबन्धक देवराज राजवंशीले विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेतलाई शोभनीय प्रजातिका बिरुवा औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका बिरुवाहरू विद्यालय परिसरमा रोपेर हरित, स्वच्छ र वातावरणमैत्री शैक्षिक वातावरण निर्माण गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक राजवंशीले वातावरण संरक्षण केवल नारामा सीमित नभई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गर्दै वृक्षारोपणले भावी पुस्तामा प्रकृतिप्रतिको जिम्मेवारीबोध विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानाध्यापक बस्नेतले संस्थाले विद्यालयप्रति देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त बिरुवाको संरक्षण र व्यवस्थापनलाई विद्यालयले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण तथा हरियाली प्रवर्द्धनमा यस्ता सहकार्यले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।




















