झापा । कचनकवल गाउँपालिका-३, मागुरमारीस्थित श्री पथरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा १२ वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार परीक्षामा सहभागी २४ जना विद्यार्थीमध्ये १६ जना विद्यार्थी सफल भएका छन् भने ८ जना विद्यार्थीले मौका परीक्षा दिनुपर्ने भएको छ।
सार्वजनिक नतिजाअनुसार विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ६६.६७ प्रतिशत रहेको छ। सफल विद्यार्थीहरूमध्ये तिलरूपा भट्टराई ले ३.४७ GPA प्राप्त गर्दै विद्यालय प्रथम बन्न सफल हुनुभएको छ। त्यसैगरी उषाबती राजवंशीले ३.४४ GPA, कलावती राजवंशीले ३.४१ GPA, जानकी कुमारी राजवंशीले ३.३१ GPA, ज्योति पतंगवा लिम्बुले ३.३१ GPA र टिकामाया खड्काले ३.२२ GPA प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन्।
विद्यालयका अनुसार विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको निरन्तर मार्गदर्शन तथा अभिभावकहरूको सहयोगका कारण नतिजा सन्तोषजनक आएको हो। विद्यालयले सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।
नतिजा सार्वजनिक गर्दै विद्यालयले मौका परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरूलाई समयमै विद्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न समेत आग्रह गरेको छ।
विद्यालय व्यवस्थापन समितिले सफल विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी वर्ष अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएको छ।




















