बनियानी । झापाको कचनकवल गाउँपालिका-६ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा १२ वार्षिक परीक्षामा उत्साहजनक नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार अधिकांश विद्यार्थीहरूले सन्तोषजनक जीपीए प्राप्त गर्दै उच्च शिक्षातर्फको यात्रालाई थप मजबुत बनाएका छन्।

विद्यालयका अनुसार परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये हिना गणेशले ३.५५ GPA प्राप्त गरी विद्यालय प्रथम बन्न सफल भएकी छन्। त्यसैगरी यिलिसा राजवंशीले ३.२५ GPA तथा अर्सी फतेमाले ३.२० GPA प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

विद्यालय प्रशासनले यस सफलतालाई विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पित शिक्षण र अभिभावकहरूको सकारात्मक सहयोगको प्रतिफलका रूपमा लिएको जनाएको छ। ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढिरहेको विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त क्रियाकलाप तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई विशेष प्राथमिकता दिँदै आएको छ।FB_IMG_1781867412111

विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेत ले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न विद्यालय निरन्तर प्रयासरत रहने बताउनुभयो। उहाँले सफल विद्यार्थीहरूलाई उच्च शिक्षामा समेत उत्कृष्टता कायम राख्न प्रेरित गर्नुका साथै मौका परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी समयमै विद्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

विद्यालयले शिक्षा नै व्यक्तित्व विकास, सामाजिक रूपान्तरण र राष्ट्र निर्माणको प्रमुख आधार भएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रहरूमा अझ प्रभावकारी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षण–सिकाइ वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कक्षा १२ को यस वर्षको नतिजाले श्री लक्ष्मी माध्यमिक विद्यालयको शैक्षिक उन्नयनतर्फको यात्रालाई थप बलियो बनाएको विद्यालय परिवारको विश्वास रहेको छ।