बनियानी । विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व तथा सेवाभावको विकास गर्ने उद्देश्यले लक्ष्मी माध्यमिक विद्यालय, बनियानीले नेपाल स्काउटका कार्यक्रम सञ्चालनको तयारी अघि बढाएको छ।
विद्यालयमा आयोजित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठले स्काउट शिक्षाको महत्व, यसको व्यावहारिक पक्ष तथा विद्यालय तहमा स्काउट गतिविधि सञ्चालन गर्दा विद्यार्थीमा पर्ने सकारात्मक प्रभावबारे जानकारी गराएका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेत तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम खतिवडाको समेत सक्रिय सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा विद्यालयमा स्काउट इकाइ गठन गरी विद्यार्थीलाई व्यवहारिक शिक्षा, नेतृत्व विकास, सामुदायिक सेवा, विपद् व्यवस्थापन तथा राष्ट्रप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनका अनुसार स्काउट केवल अतिरिक्त क्रियाकलाप मात्र नभई विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासको महत्वपूर्ण माध्यम भएकाले आगामी दिनमा विद्यालयमा नियमित रूपमा स्काउट गतिविधि सञ्चालन गरिने तयारी गरिएको छ।
“पुस्तकको ज्ञानसँगै व्यवहारिक सीप र सेवाभावयुक्त नागरिक निर्माणका लागि स्काउट शिक्षा अपरिहार्य छ” भन्ने विश्वासका साथ लक्ष्मी माध्यमिक विद्यालयले स्काउट अभियानलाई संस्थागत रूपमा अघि बढाउने संकेत दिएको छ।
















