काठमाडौं: नेपाल शिक्षक महासंघले प्रतिनिधि सभाका नवनिर्वाचित सांसद खगेन्द्र सुनार द्वारा सार्वजनिक रूपमा व्यक्त गरिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त अभिव्यक्ति शिक्षक समुदाय र शिक्षण पेसाको गरिमामाथि आघात पुग्ने खालको रहेको भन्दै तत्काल क्षमा माग्न आग्रह गरेको छ।

महासंघद्वारा जारी विज्ञप्तिमा विद्यालय शिक्षा प्रणालीको विकास, शिक्षक-कर्मचारीको हकहित तथा पेसागत मर्यादाको संरक्षणमा आफूहरू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। यस्तो सन्दर्भमा कुनै पनि सार्वजनिक पदमा आसीन व्यक्तिबाट शिक्षक समुदायप्रति अपमानजनक वा अमर्यादित टिप्पणी हुनु अस्वीकार्य हुने महासंघको धारणा छ।

विज्ञप्तिमा भनिएको छ, “शिक्षक तथा शिक्षण पेसाको स्वाभिमान र मर्यादाविपरीतका अभिव्यक्ति र व्यवहार महासंघलाई ग्राह्य हुन सक्दैनन्। विसं २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित एक जना माननीय सांसदबाट शिक्षक समुदायप्रति गरिएको अमर्यादित शब्दप्रयोगप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

महासंघले उक्त अभिव्यक्ति सार्वजनिक पदको गरिमा र जिम्मेवारीसँग असंगत रहेको उल्लेख गर्दै सम्बन्धित सांसदलाई आफ्नो टिप्पणीप्रति सार्वजनिक रूपमा क्षमा माग्न तथा भविष्यमा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको छ।

यस घटनाले पछिल्लो समय सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अभिव्यक्ति र सामाजिक उत्तरदायित्वबारे पुनः बहसलाई तीव्र बनाएको छ। विशेषगरी शिक्षा क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा संलग्न पेशाकर्मीप्रति सम्मानजनक व्यवहार र भाषाको प्रयोग अपरिहार्य रहेको शिक्षक महासंघले स्पष्ट पारेको छ।

FB_IMG_1773384659257