झापा, बनियानी।कचनकवल गाउँपालिकामा सञ्चालित “उत्तर प्रसूति भेटघाट कार्यक्रम” को वार्षिक समीक्षा गोष्ठी २०८२ फागुन २६ र २७ गते सम्पन्न भएको छ। मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले आयोजित उक्त समीक्षा कार्यक्रम स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने निष्कर्षसहित सम्पन्न भएको हो।

स्वास्थ्य कार्यालय झापाकी नर्सिङ अधिकृत विध्या नेउपाने र पालिका स्वास्थ्य शाखाकी अ.न.नि. स्मृती पाण्डेको संयुक्त सहजीकरणमा सम्पन्न कार्यक्रममा गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ सेवा प्रदायकहरूको सक्रिय सहभागिता रहेको थियो।

गोष्ठीको अध्यक्षता गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि समुदायमै आधारित स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा गहन छलफल गरिएको थियो। साथै, अझै पनि विभिन्न कारणले बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी सेवा लिन नसकेका सेवाग्राहीहरूको पहुँच विस्तार गर्न आवश्यक रणनीति तय गर्ने विषयमा समेत विशेष जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नवराज भट्टराईले सुरक्षित मातृत्व सेवा स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो,“मातृ तथा नवजात शिशुको स्वास्थ्य संरक्षण केवल स्वास्थ्य क्षेत्रको मात्र होइन, सम्पूर्ण समुदायको साझा दायित्व हो। कचनकवलमा कुनै पनि आमा असुरक्षित अवस्थाबाट सुत्केरी हुनुपर्ने स्थिति अन्त्य गर्न स्थानीय सरकारले आवश्यक स्रोत, जनशक्ति र सचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउनेछ।”

स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवका अनुसार उत्तर-प्रसूति भेटघाट कार्यक्रमले सुत्केरी पश्चात् आमाहरूको स्वास्थ्य अवस्था निगरानी, नवजात शिशुको हेरचाह तथा परिवारस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ। उहाँले भन्नुभयो,“यस कार्यक्रममार्फत सुत्केरीपछिको स्वास्थ्य जाँच, पोषण, नवजात शिशुको हेरचाह तथा सम्भावित जोखिम पहिचान गर्न सहज भएको छ। आगामी दिनमा बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी सेवा लिन सेवाग्राहीहरूको पहुँच अझ बढाउनेतर्फ विशेष पहल गरिनेछ।”

दुई दिनसम्म सञ्चालन भएको उक्त गोष्ठीले स्वास्थ्य संस्थाहरूबीच अनुभव आदान-प्रदान गर्दै सेवा प्रवाहमा देखिएका चुनौती र सुधारका उपायहरू पहिचान गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रमले स्थानीय तहमा सुरक्षित मातृत्व सेवा सुदृढ गर्दै मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणतर्फ महत्वपूर्ण आधार तयार गरेको अपेक्षा गरिएको छ।