बनियानी । लामो समयदेखि उच्चरक्तचाप र मधुमेहजस्ता दीर्घरोगको नियमित औषधि सेवन गरिरहेका कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको स्वास्थ्यमा सुधार नआएपछि हाल प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचाररत अवस्थामा रहेका छन्।
गएको मङ्गलबार घर फर्कने क्रममा कचनकवल-१ स्थित भुतेश्वर शिवालय जाने बाटो नजिक पथरिया-घेरावारी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा थुपारिएको परालमा ठोक्किँदा उनी लडेका थिए। प्रारम्भिक रूपमा गम्भीर चोट नदेखिए पनि स्थानीयवासीको सहयोगमा उनी घर पुगेका थिए।
शरीरमा असहजता बढेपछि प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा स्वास्थ्य परीक्षण गरिएको थियो। त्यहाँ थप औषधि दिइए पनि रक्तचाप नियन्त्रणमा नआएपछि हाल स्लाइनमार्फत औषधि दिइँदै उपचार भइरहेको स्वास्थ्यकर्मीले जनाएका छन्।
उपचारमा संलग्न डा. दिपेन राजवंशीका अनुसार बिरामीको रक्तचाप असामान्य रूपमा उच्च देखिएको छ। साथै, मधुमेह र उच्चरक्तचापको दीर्घ इतिहास भएकाले थप जटिलता देखिन सक्ने जोखिम रहेको बताइएको छ।
जनस्वास्थ्य निरीक्षक नवीन मिश्रका अनुसार प्रारम्भिक परीक्षणमा रगत तथा पिसाब सम्बन्धी समस्या समेत देखिएकाले विशेषज्ञ परामर्श आवश्यक ठहर गरिएको छ। त्यसैले थप उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा नेफ्रोलोजिस्टको सेवा लिन सिफारिस गरिएको छ।
स्वास्थ्य अवस्था स्थिर नभए पछि चिकित्सकहरूले उच्च सावधानी अपनाइएको जनाएका छन्। दीर्घरोगी व्यक्तिका लागि सामान्य देखिने दुर्घटनासमेत जटिल स्वास्थ्य जोखिममा परिणत हुन सक्ने भएकाले समयमै विशेषज्ञ उपचार आवश्यक हुने चिकित्सकहरूको भनाइ छ।




















