झापा । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे संक्रान्तिको अवसर पारेर यही पुस ३० गतेदेखि माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ। नेपाल, भारत र भुटानका विविध जातका तरुल तथा रैथाने खानाको प्रदर्शनीसहित हुने महोत्सवले स्थानीय कृषि, संस्कृति र अर्थतन्त्रलाई जोड्ने अपेक्षा गरिएको छ।
सरकारी तथा गैरसरकारी गरी १४ वटा संस्थाको सहकार्यमा आयोजना हुने महोत्सवमा तरुलजन्य १८ प्रकारका रैथाने खानेकुराको प्रदर्शनी मुख्य आकर्षण रहने आयोजक समितिले जनाएको छ। मेचीनगर-४ का वडाध्यक्ष एवं आयोजक समितिका अध्यक्ष अर्जुन कार्कीका अनुसार हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित बाहुनडाँगीमा चौथोपटक तरुल महोत्सव आयोजना हुन लागेको हो, जसले यस क्षेत्रलाई कृषि-पर्यटनसँग जोड्ने आधार तयार गरेको छ।
परम्परागत रूपमा उपभोग हुँदै आएका तरुल तथा रैथाने खाना स्वास्थ्यवर्द्धक र पोषिलो हुने विभिन्न अध्ययनले देखाएका छन्। यही वैज्ञानिक तथ्यलाई आम नागरिकसम्म पुर्याउने, लोपोन्मुख रैथाने बालीको संरक्षण गर्ने र किसानलाई व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्ने उद्देश्य महोत्सवको मूल आशय रहेको आयोजक समितिका सचिव नीरज घिमिरेले बताए। उनका अनुसार रैथाने तरुलको प्रवर्द्धनले स्थानीय किसानको आयआर्जन बढाउने मात्र होइन, कृषि अर्थतन्त्रलाई दिगो बनाउने सम्भावना पनि बोकेको छ।
युएनडिपी, इसिमोड, डब्ल्युडब्ल्युएफ, प्रकृति संरक्षण कोषलगायत गैरसरकारी संस्थाको सहयोग तथा कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाको सहभागितामा आयोजना हुने महोत्सवले पर्यटकीय चहलपहल बढाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार करिब ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ।
महोत्सव अवधिभर लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको साङ्गीतिक प्रस्तुति पनि रहनेछ। यसले रैथाने कृषि उत्पादन, स्थानीय संस्कृति र पर्यटनलाई एउटै सूत्रमा बाँध्दै बाहुनडाँगीलाई कृषि-पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने विश्वास आयोजकको छ।




















