

झापा, साउन ६ - कचनकवल गाउँपालिका-६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गतको सर्पदंश उपचार केन्द्र बनियानी पछिल्ला दिनमा नेपाल मात्र होइन, छिमेकी भारतका लागि पनि जीवनरक्षक बनिरहेको छ।
हिजोको दिन केन्द्रका लागि निकै व्यस्त रह्यो। भारत पश्चिम बङ्गाल, दार्जिलिङका मो. कौशर र कचनकवलकै हरिलाल काफ्ले,देवीमाया गजमेर र देवु माझीलाई सर्पले डसेपछि परिवारजनले हतारहतार बनियानी केन्द्र ल्याएका थिए।
स्वास्थ्यकर्मी हृदय शाह भन्छन्, “सर्पदंशपछि पहिलो घण्टा सुनौलो समय हो। यही समयमा उपचार नगरे ज्यान जान सक्छ। हाम्रा टोलीले विशेष निगरानी र आवश्यकता भएबमोजिम समयमै एन्टि-स्नेक भेनम दिएपछि चारै जनाको अवस्था स्थिर छ।”
घटनाको जानकारी पाएपछि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी केन्द्र पुग्नुभएको थियो। बिरामीको अवस्था बुझेर भन्नुभयो,“केही वर्षअघिसम्म सर्पदंशका बिरामी समयमै उपचार नपाएर ज्यान गुमाउँथे। आजको दिनले देखायो, अब यस्तो दिन अन्त्य हुँदैछ।”
वहाँले केन्द्रलाई सशक्त बनाउन गाउँपालिकाको तर्फबाट जनशक्तिलाई अतिरिक्त सुविधा र औषधि आपूर्तिमा सुनिश्चित गरिएको बताउनु भएको छ।
नेपाल-भारत सीमावर्ती क्षेत्र भएकाले भारतको दार्जिलिङ, बिहार क्षेत्रका सर्पदंशका बिरामीहरूले समेत बनियानी केन्द्रमा उपचार लिने क्रम बढेको छ।
नेपालमा हरेक वर्ष करिब २० हजार मानिस सर्पदंशको सिकार हुन्छन्। जसमध्ये औसत १ हजारको अकाल मृत्यु हुन्छ। यस्ता तथ्यांकसँग जुधिरहेको अवस्थामा बनियानी सर्पदंश उपचार केन्द्र एउटा उदाहरणीय उपलब्धि बनेको छ।