बनियानी, झापा - कचनकवल गाउँपालिका वडा नं. ६ स्थित बनियानी बजारले अहिले तीव्ररुपमा शहरीकरणको यात्रा तय गरिरहेको छ। तर बजार व्यवस्थापनको अभाव, अतिक्रमण, ढल निकासको समस्या, तथा प्राकृतिक आपतविपतबाट हुने क्षतिलाई लिएर स्थानीयवासी र सरोकारवालाहरूको चासो पनि उत्तिकै बढेको छ। यिनै विषयलाई लिएर गाउँपालिकाले गाउँपालिकाको सभाहलमा आयोजना गरेको सर्वपक्षीय छलफलले दीर्घकालीन योजनाको आवश्यकता झन् गहिरो रूपमा उजागर गरेको छ।


गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीको अध्यक्षतामा सम्पन्न छलफलमा उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, वडाध्यक्ष चिन्तामणि खरेल, भरत राजवँशीसहित राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी र स्थानीयवासीको उल्लेख्य सहभागिता थियो।
*सरकारी जमिन पहिचान र अतिक्रमणको अन्त्यमा जोड
छलफलको प्रारम्भमै समाजसेवी तुलाराम अधिकारीले बजार क्षेत्रको सरकारी जग्गा पहिचान गर्ने र अतिक्रमित जमिन फिर्ता गर्ने विषय उठाए। “अतिक्रमण गरिएको जमिनलाई खाली गराउन नसकेसम्म कुनै दीर्घकालीन योजना सफल हुँदैन,” अधिकारीले स्पष्ट चेतावनी दिँदै भने। उहाँले ढल निकास र बन्ने भवनको फाउन्डेसनको क्षमता समेत ध्यान दिएर बजारको दिगो विकासको खाका बनाउनुपर्ने धारणा राखे।
*DPR को पुनःमुल्यांकन र नयाँ शहरी मोडलको आवश्यकता
सरोज लामिछानेले बजार क्षेत्रको विकासका लागि पुरानो Detailed Project Report (DPR) पुनरावलोकन गरी नयाँ DPR बनाउनुपर्ने प्रस्ताव गरे। कर्ण राजवँशीले शहरी विकासको आधुनिक मोडललाई आधार मानेर कानुनी ढाँचामा काम अघि बढाउन जोड दिए। “कानुनी फ्रेमवर्कको पालना नगरी बजार व्यवस्थापन गर्ने प्रयासले अझ अराजकता निम्त्याउँछ। अब हामीलाई आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर सोच्नुपर्ने समय आएको छ,” राजवँशीले भने।
*आपतकालीन अवस्था र दीर्घकालीन सोचको खाँचो
देउमान बुढाथोकी र कुल बहादुर कार्कीले बनियानी बजारको वर्तमान संरचना भविष्यमा बढ्ने जनघनत्वलाई धान्न सक्षम नहुने उल्लेख गर्दै आपतकालीन अवस्थाका लागि Assembly Area बनाउनुपर्ने र चौकदेखि ७०० मिटर क्षेत्रलाई बजार क्षेत्र घोषणा गरिएकाले त्यसअनुसार योजना बनाउनुपर्ने धारणा राखे।
*खोलाको पानी र ढल व्यवस्थापन : सबैभन्दा ठूलो चुनौती
बजार क्षेत्रमा पस्ने खोलाको पानी दीर्घकालीन चुनौतीका रूपमा देखा परेको छ। खड्ग मिश्रले बजार व्यवस्थापनमा सबैभन्दा ठूलो चुनौतीकै रूपमा खोलाको पानीलाई चिनाउँदै यसको दीर्घकालीन समाधानमा जोड दिए। भागिरथा प्याकुरेलले पनि बालुवा खोला नियन्त्रणका लागि हालसम्म गरिएका प्रयासहरू पर्याप्त नभएको भन्दै थप व्यवस्थापनको माग गरे।नरबहादुर कार्कीले पश्चिमतर्फबाट बजारमा पस्ने खोलाको पानी व्यवस्थापन नगरिए भबिष्यमा बजार डुबानको जोखिम बढ्ने चेतावनी दिए।
*आधुनिक बजार संरचना र व्यवस्थापन मोडालिटीमा बहस
निरज दाहालले बजारमा ट्राफिक व्यवस्थापन, भवन मोडालिटी, सामग्री व्यवस्थापन र प्राकृतिक प्रकाश व्यवस्थापनको सन्तुलित योजना ल्याउनुपर्ने बताए। गोपाल खड्काले दीर्घकालीन सोचका साथ विश्रामलय र आधारभूत पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।
जयसिंह राजवँशीले बजार क्षेत्रमा सटर निर्माणको आवश्यकता औंल्याए भने हरि बुढाथोकीले बजारवासीको असहयोगकै कारण विकासको गति अवरुद्ध भइरहेको गुनासो गरे।
*सरोकारवालाको विशेष सुझाब : बजारको अपनत्व र भावी पुस्ता
हरि घिमिरेले बजार व्यवस्थापन यस्तो बनाइनुपर्ने बताए, जसले भविष्यका पुस्तामा पनि अपनत्व र गर्वको भावना पैदा गरोस्। “वितरण गरिएका भिटामा अनिवार्य रुपमा पसल सञ्चालन गर्नुपर्छ। बजार व्यवस्थापन सार्वजनिक चासोको विषय हो,” घिमिरेले स्पष्ट पारे।
बुद्धि नेपाल र विनोद झा दुवैले बजार सरसफाइ र ढल निकास सुधार गर्नुपर्नेमा जोड दिए। शिवप्रसाद गुरुङले बजेटको समस्या नभएको अवस्थामा सबैको सहयोग भए दीर्घकालीन योजना कार्यान्वयन गर्न सहज हुने धारणा राखे।
*गाउँपालिकाको प्रतिबद्धता : छिट्टै कार्ययोजना सार्वजनिक गरिने
छलफलको समापनमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले बजार व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर सबै सरोकारवालाको सुझावलाई समेट्ने गरी कार्ययोजना बनाइने प्रतिबद्धता व्यक्त गरे। “यो बजार कचनकवलको मात्र नभई समग्र क्षेत्रकै पहिचान हो। यसलाई व्यवस्थित र सुरक्षित बनाउन हामी सबैको साझा जिम्मेवारी छ,” अध्यक्ष राजवँशीले भने।
*बनियानी बजारको भविष्य अब सबैको हातमा
सर्वपक्षीय छलफलले देखाएको जति गहिरो चासो छ, त्यति नै गहिरो चुनौती पनि छ। दीर्घकालीन सोच, कानुनी प्रावधानको कडाई, र आधुनिक शहरी मोडलको संयोजन नगरी बनियानी बजार व्यवस्थापन सम्भव छैन। अब कुरा कार्यान्वयन र स्थायित्वको हो। बजारको भविष्य व्यवस्थित बनाउन अहिलेको निर्णयले दशकौँसम्म प्रभाव पार्नेछ।