झापा, असार २९ - कचनकवल गाउँपालिका वडा नं. ६ डुगडुगीमा नवनिर्मित अजमत ए. गौसिया मदरसाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। धार्मिक तथा शैक्षिक उत्थानका लागि स्थापित मदरसाको उद्घाटन गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले गर्नुभयो।


उक्त कार्यक्रममा वडाध्यक्ष चिन्तामणी खरेल, महिला संघ कचनकवल अध्यक्ष सेलेतुन खातुन, बुद्धिजीवी कर्ण राजवंशीसहित स्थानीय समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राजवंशीले कचनकवलको धार्मिक सद्भाव र सहिष्णुताको प्रसंशा गर्दै मदरसाले आगामी दिनमा इस्लामिक शिक्षासँगै समग्र शिक्षा क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। वडाध्यक्ष खरेलले स्थानीय तहबाट शिक्षा, स्वास्थ्य र सामुदायिक विकासमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो।
महिला संघ अध्यक्ष खातुनले महिलाहरूको सक्रिय सहभागिताले सामाजिक रूपान्तरणमा सकारात्मक भूमिका खेलेको बताउँदै मदरसाको स्थापनामा देखिएको एकताले उदाहरणीय कार्यको संकेत दिएको धारणा राख्नुभयो।
कार्यक्रमको समापनमा आयोजक समितिका तर्फबाट मदरसाको निर्माणमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको थियो।