“हुम्ला अब टाढा छैन !” भन्ने कुरा सुनेर मात्रै होइन, सडकमार्गको कठिन यात्रा गरेर हुम्लाको भूगोल र जनजीवनको साक्षात्कार गर्दा के साँच्चै हुम्ला टाढा छैन त ?

म यो प्रश्नको उत्तर आफ्नै यात्राबाट दिन चाहन्छु। मैले हेलिकप्टरबाट हुम्ला देखेर होइन, सडकमार्ग हुँदै कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु गमगढी पार गरेर चंखेली पास हुँदै हुम्ला, अथवा सुर्खेतबाट दैलेख, कालिकोटको खुलालु पुल पार गर्दै कर्णाली करिडोर हुँदै कालिकोट, बाजुरा पार गर्दै हुम्लासम्म पुग्ने चुनौतीपूर्ण यात्रा गरें।Screenshot_2025-07-06-13-13-01-599_com.facebook.katana-edit

सडकको अवस्था, भौगोलिक जटिलता, चिसो हावापानी, र हुम्लीको जीवनशैली प्रत्यक्ष देख्दा बुझियो-हुम्ला टाढा नभए पनि सहज भने अझै छैन।Screenshot_2025-07-06-13-11-46-412_com.facebook.katana-edit

७७ जिल्ला पुरा गर्ने रहरको अन्तिम गन्तव्य-हुम्ला

यो यात्रा मेरो लागि एउटा रहर थियो कि नशा, छुट्याउनै गाह्रो छ। यसअघि ७६ जिल्ला भटभटे (मोटरसाइकल) मा घुमेको मान्छेलाई ७७औँ जिल्ला हुम्ला पुग्ने हुटहुटी थियो। २०८१ सालको चैत्रको तेस्रो सातामा म हुम्ला पुगें।

चंखेली पासबाट मुगुलाई बिदाइ गर्दै हुम्ला प्रवेश गर्दा अँध्यारो रात, जमिनमा बाँकी रहेको हिउँका चिप्ला पाटाहरू, बगिरहेको पग्लेको हिउँको पानीले काटेर गएको बाटो, र जंगलमा सल्लाका रुखले झराउँदै गरेका आगोका झिल्काहरू-यी सबै मिलेर वातावरण झन् डरावना बनाएको थियो। करिब तीन घण्टा लगातार यात्रा गर्दा समेत न कुनै बस्ती न मानिस देख्दा शंका लाग्थ्यो-के म सही बाटोमै छु?Screenshot_2025-07-06-13-11-00-727_com.facebook.katana-edit

रातको करिब ८:३० बजे एक सानो बस्ती देखिँदा भने हर्षको सीमा रहेन। ढोका ढक्ढक्याएँ, भित्रबाट एक भाइले ढोका खोले। उनीहरूको आत्मीयता यस्तो थियो कि मैले थकित शरीर लिएर सोझै भित्र छिर्दै बास पाउँछु भन्ने कल्पना थिएन। उनीहरूले पकाइराखेको आलुको झोलिलो तरकारी र सादगीपूर्ण खाना बाँडीचुँडी खाएँ, मनदेखि कृतज्ञ भएँ र त्यहीँ आनन्दले निदाएँ।Screenshot_2025-07-06-13-12-05-486_com.facebook.katana-edit

हुम्लाको भौगोलिक र सामाजिक यथार्थ

भोलिपल्ट उज्यालोमा चंखेली, सर्केगाड, अदानचुली, ताँजाकोट गाउँपालिकाहरुको यात्रा गर्दा बाटोको वास्तविकता अझ स्पष्ट देखियो। हुम्लामा सडक भन्नासाथ काठमाडौंको कालोपत्रे सडकको कल्पना गर्नु बेकार छ। चिप्लो माटो, भत्केका डिल, कहिलेकाहीँ बाइक उचालेर स्थानीयको सहयोगमा मात्र पार गर्न सकिने ठाउँहरू-यस्तै छन् यहाँका सडक।Screenshot_2025-07-06-13-11-29-611_com.facebook.katana-edit

तर यहाँका मानिसहरूको मन सडकजस्तै अवरोधले भरिएको छैन। घरको छाना छाउन माटो खन्दै गरेका दिदीबहिनीहरूका मुस्कान, चिया पसलमा नयाँ मान्छे देख्दा झुम्मिने केटाकेटीहरू, अनि अन्जान यात्रुलाई राति बास दिने र खान दिएको आत्मियताले मन गहिरोसम्म छुन्छ।Screenshot_2025-07-06-12-52-46-813_com.miui.gallery-edit 1

राजधानीका चिल्ला सडक, सुखसुविधा, र स्वार्थी सामाजिक सम्बन्धहरूसँग तुलना गर्दा लाग्छ-हुम्ला पनि नेपालमै पर्छ र? राजधानीका शासकहरूले हुम्लाको भूगोल र यहाँका नागरिकलाई अझै पनि आफ्नै देशको हिस्सा मानेका छैनन् जस्तो लाग्छ।

हुम्ला अब दूरीका हिसाबले टाढा छैन, तर राजनीतिक, भौतिक र सामाजिक पहुँचका हिसाबले अझै पनि टाढै छ। मैले मेरो जीवनको एउटा ठूलो रहर पूरा गरें-७७ जिल्लाको यात्रा, त्यो पनि भटभटेमा। तर यो यात्रा मलाई भन्छ-हुम्ला पुग्न सकिन्छ तर हुम्लीको जीवनमा अझै पुग्न बाँकी छ।