प्रसान्त भण्डारी । सानो भूगोलमा जन्मिएर पनि एसियाकै डाइनामिक र अन्तर्राष्ट्रिय राजनीतिक शक्तिहरूसँग भिड्न सक्ने र जन्मभूमिका लागि अभिभावकत्व लिन सक्ने प्रचण्ड नेपाली जनताका लागि युगले दिएको एउटा स्वर्णिम उपहार नै हुन्।


मैले यस्तो भनिरहँदा केहीलाई यो प्रचण्डको चाकडी गरेजस्तो लाग्न सक्छ। विपक्षी विचारधाराका मानिसहरूलाई यस्तो लाग्नु स्वाभाविक पनि हो। तर यथार्थ के छ भने, तथ्यहरूले प्रचण्डको नेतृत्व र माओवादी आन्दोलनकै कारण देशमा भएको आमूल परिवर्तनलाई पुष्टि गर्छन्।
तानाशाहीको अन्त्य र समाजको संरचनात्मक परिवर्तन
तानाशाही शासनसत्ताका लाखौं सशस्त्र सेनासँग लडेर तत्कालीन निरङ्कुश सामन्ती व्यवस्था ढाल्न सफल भएका व्यक्ति प्रचण्ड नै हुन्। त्यही व्यवस्थाले ‘अछूत’ भनेर विभेद गरेको समुदायका मानिसलाई राज्यको सर्वोच्च नेतृत्वको अवसर दिने ऐतिहासिक कार्य पनि उनकै नेतृत्वमा सम्भव भयो।
महिला अधिकार र समानताका उपलब्धिहरू
हाम्रो पुरुषप्रधान समाजमा महिलाहरूलाई सधैं बच्चा जन्माउने मेसिन वा केवल ओछ्यानको साथीका रूपमा हेरिन्थ्यो। तर माओवादी आन्दोलन र त्यसको वर्गसंघर्षले महिलालाई आधा आकाश आधा पृथ्वीको रूपमा स्थापित गरिदियो। परिणामस्वरूप, नेपालले पहिलोपटक महिला राष्ट्रपतिका रूपमा विद्या भण्डारीलाई पायो। यद्यपि उनी एमालेबाट निर्वाचित भइन्, तर यस अवधारणाको एजेन्डा भने माओवादी आन्दोलनकै थियो।
जातीय र क्षेत्रीय विभेदको अन्त्य
त्यस्तै, अघिल्लो कार्यकालमा कांग्रेसका रामवरण यादवजस्तो मधेसी नागरिक राष्ट्रपतिमा पुगे। त्यो त्यही मधेसी समुदाय हो, जसका छोराछोरीलाई अघिल्लो निरङ्कुश व्यवस्थाले नेपाली सेनामा भर्तीसम्म गर्न दिएको थिएन। आज उनीहरू राष्ट्रको सर्वोच्च पदमा पुग्नुको जग पनि माओवादी आन्दोलन र प्रचण्डकै नेतृत्वको परिणाम हो।
गणतन्त्रको असली चालक
यथार्थ के हो भने, यो गणतन्त्रको मूल ड्राइभर माओवादी र प्रचण्ड नै हुन्। शेरबहादुर देउवा, माधवकुमार नेपालजस्ता नेताहरू सहायक भूमिकामा थिए। आज पनि यही कारण हो, बेलाबेला यो व्यवस्था बिना ‘लाइसेन्स’ भएका व्यक्तिहरूले ड्राइभ गर्दा जनताले पीडा भोग्नुपरेको छ। किनकि मूल व्यवस्थाको सिद्धान्त र संरचना बुझ्ने ज्ञान उनीहरूसँग छैन।
भावी यात्राको दिशामा
हामीले भावनामा होइन, विवेकमा सोच्न जरुरी छ। जसले मुलुकमा आमूल परिवर्तन ल्यायो, जसले संविधानमार्फत राज्यसत्ताको विकेन्द्रीकरण गर्यो, जसले प्रत्येक नागरिकको सार्वभौम अधिकारको रक्षा गर्ने जग तयार गर्यो, त्यही शक्ति र नेतृत्वलाई साथ दिन अबको आवश्यकता हो।
गम्भीर प्रश्नहरू सहित अब छातीमा हात राखेर एकछिन सोचौं :
-के यी परिवर्तनहरू माओवादी र प्रचण्डबिनाको सम्भव थिए ?
-के यही आवाजका कारण मदन भण्डारी त्रिशूलीमा बग्नुपरेको होइन ?
-के यही परिवर्तनको निम्ति गिरिजाप्रसाद कोइरालाले “देश तपाईंहरूलाई सुम्पिन्छु, अरू कसैमा जनअधिकारको निम्ति खतरा मोल्ने हिम्मत छैन” भन्दै अन्तिम श्वास लिएका होइनन् ?
-के यही प्रचण्ड होइनन् जसले परिवारमा सीमित सत्ता खोसेर जनतासम्म वितरण गरे ?
-के यही प्रचण्ड होइनन् जसले हरेक नागरिकको सार्वभौम अधिकार समान हुनुपर्छ भनेर जग हाले ?
-त्यसैले अब समय आएको छ—चिनौं र सोचौं, कतै हामीले बहुमूल्य चीज चिन्न नसक्दा गुमाउँदै त छैनौं ?
आवेगमा होइन, विवेकमा सोचौं। धन्यवाद।