झापा, असार २१। देशव्यापी रूपमा र छिमेकी मुलुक भारतमा समेत कोभिड-१९ का नयाँ भेरियन्टहरू तीव्र गतिमा फैलिरहेका छन्। संक्रमण दरको निरन्तर वृद्धि र उत्पन्न हुन सक्ने सम्भावित स्वास्थ्य संकटलाई मध्यनजर गर्दै प्रदेश सरकारले कचनकवल गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीमा कोभिड-१९ विरुद्धको फाइजर खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।


गाउँपालिका स्वास्थ्य शाखाका अनुसार यहि मिति २०८२ असार २२ गतेदेखि २०८२ असार ३१ गतेसम्म लगातार १० दिनसम्म खोप सेवा प्रदान गरिनेछ। यस अभियानमार्फत लक्षित समूहमा रहेका नागरिकहरूले आफ्नो पालिकाबाटै खोप सेवा प्राप्त गर्न सक्नेछन्।
खोप अभियानमा लक्षित नागरिकहरू यसप्रकार छन् :
-१२ वर्ष वा सोभन्दा माथिका नागरिक, जसले अहिलेसम्म कोभिड-१९ विरुद्धको कुनैपनि खोप लिएका छैनन्।
-अघिल्लो खोप लिइसकेका तर त्यसको १२ महिनाको अन्तराल पूरा भइसकेका सबै नागरिक।
-अघिल्लो खोप लिएका नागरिकहरूले आफ्नो खोप कार्ड अनिवार्य रुपमा साथमा ल्याउनुपर्ने।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले भन्नुभयो, “कोभिड-१९ को जोखिम अझै टरेको छैन। नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने स्वास्थ्य संकटबाट बच्न खोप नै सबैभन्दा प्रभावकारी माध्यम हो। त्यसैले तोकिएको मितिमा सबै लक्षित नागरिकहरूले खोप लगाई सुरक्षित रहनुहोला।”
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले खोप अभियानप्रति स्थानीय तहको प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयो, “स्वास्थ्य सुरक्षामा कुनै सम्झौता गर्न मिल्दैन। प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा सञ्चालन हुने यो खोप अभियानबाट कचनकवलवासीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नेछ।”
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले भन्नुभयो, “अभियान सफल बनाउन सबै सरोकारवालाको सहकार्य अपरिहार्य छ। नागरिकहरूले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्दै आफ्नो पालो अनुसार खोप लिन आह्वान गर्दछु।”
स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले नागरिकहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा बिहान १०:०० बजे देखि बेलुकी ४:०० बजेसम्म अनावश्यक भीड नगरी पालोअनुसार सेवा लिन र मास्क लगाउने, दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न सुझाव दिए।