झापा, बनियानी - बनियानी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको लापरवाहीका कारण स्थानीय विद्यालयहरूमा पानीको चरम अभाव देखिएको छ। विद्यालयमा पिउने पानीको अभावले दैनिक पठनपाठन असम्भव बनेपछि केही विद्यालयहरूले अनिश्चितकालीन बिदा घोषणा गरेका छन्। स्थिति जटिल बन्दै गएपछि आक्रोशित स्थानीयबासीले समितिको कार्यालयमा तालाबन्दी समेत गरेका छन्।

विद्यालय प्रशासनहरूका अनुसार नियमित रूपमा पानी आपूर्ति नहुँदा शौचालय, धुनेपानी र पिउनेपानीको व्यवस्था पूर्णरूपमा अवरुद्ध भएको छ। गर्मी मौसममा यस्तो अवस्था अझै संकटपूर्ण बनेको छ। बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि अभिभावकहरू चिन्तित बनेका छन्।

स्थानीय अभिभावक शिव खड्का भन्छन् :

"छोराछोरी स्कुल जान त जान्छन्, तर पानी नभएपछि के पढ्ने र कसरी बस्ने ? अब विद्यालय बन्द गर्नैपर्ने अवस्था आएको छ।"

प्राप्त तथ्यांक अनुसार खानेपानी समितिले समयमै मर्मतसम्भार, स्रोत व्यवस्थापन तथा आपूर्ति प्रणालीमा ध्यान नदिएको र राजनीतिक हस्तक्षेपले समितिको कार्यक्षमता कमजोर बनेको आरोप छ। विद्यालयमा पानीको समस्या देखिएपछि विद्यार्थीहरूको उपस्थिति घटेको छ र केहीलाई त स्वास्थ्यसम्बन्धी समस्या समेत देखा परेको छ।

स्थानीय शिक्षक करुण पोख्रेलको भनाइमा :

"खानेपानीको समस्या समाधान नभएसम्म विद्यालय सञ्चालन गर्न सकिन्न। यो केवल पठनपाठनको विषय होइन, विद्यार्थीको स्वास्थ्य र सुरक्षाको कुरा हो।"

यस घटनाले स्थानीय तहमा सेवा प्रवाह, उत्तरदायित्व र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। जनजीवन कष्टकर बन्दै गए पनि सम्बन्धित निकायहरूबाट हालसम्म ठोस कदम नचालिएको स्थानीयहरू बताउँछन्।

– के बालबालिकाको शिक्षा र स्वास्थ्यप्रति यसरी बेवास्ता गर्न पाइन्छ ?

– खानेपानी जस्तो आधारभूत सेवाको जिम्मेवारी कसले लिने ?

सम्बन्धित निकायको तर्फबाट यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया आएको छैन। तर स्थानीयहरूद्वारा दबाब बढेसँगै समितिले जवाफदेही बन्ने कि अझै चुप लाग्ने हो - त्यो हेर्न बाँकी छ।

अत्यन्त जरुरी सूचना :

WhatsApp Image 2025-06-06 at 2.27.33 PM