झापा । बाह्रदशी गाउँपालिका-६ स्थित मिनी माउन्टेन अंग्रेजी माध्यमिक विद्यालयका १७ जना विद्यार्थी बुधवार दिउँसो एकैपटक बिरामी भएपछि स्थानीयस्तरमा त्रास फैलिएको छ। अपराह्न २ बजेतिर नृत्य कक्षापछि सार्वजनिक धाराको पानी पिएलगत्तै ती विद्यार्थीमा पेट दुख्ने, लडीबुडी गर्ने, कराउने, रुने जस्ता लक्षण देखिएपछि शिक्षकहरुले तत्कालै स्वास्थ्य संस्थामा उपचारका लागि लगेका थिए।

स्वास्थ्य शाखाका प्रमुख राम शाहका अनुसार विद्यालयकै धाराको पानी पिएपछि केही विद्यार्थीमा पेट दुख्ने लक्षण देखिए पनि प्रारम्भिक परीक्षणमा पानी वा वातावरणबाट स्वास्थ्यमा असर पर्ने कुनै प्रमाण फेला परेको छैन।

बिरामी परेका १७ जनामध्ये १४ जना वालिका छन्। उनीहरू सबै कक्षा ४ र ५ का विद्यार्थी हुन् र वडा नं. ५ का बासिन्दा हुन्।

विर्तासिटी अस्पतालमा चार घण्टा उपचारपछि सबै विद्यार्थीको अवस्था सामान्य बनेको स्वास्थ्य शाखाले जनाएको छ। विद्यालयले सबै विद्यार्थीलाई दुई दिनको विश्रामका लागि घर पठाएको छ।

विद्यालयका सञ्चालक खगेन्द्र सुबेदीले धाराको पानीमा कुनै खराबी नरहेको र चिकित्सकीय तथा व्यवहारिक विश्लेषण अनुसार यो घटना 'मास हिस्टेरिया' अथवा कन्भर्सन डिसअर्डर भएको दाबी गरेका छन्।

स्वास्थ्य शाखा प्रमुख साहले चिकित्सकहरुसँगको कुराकानीलाई उद्धृत गर्दै केही छात्राले सुरुमा पेट दुखेको बताएपछि अन्यले पनि उस्तै लक्षण देखाउन थालेको बताए।

कन्भर्सन डिसअर्डर एक मनोवैज्ञानिक अवस्थाको परिणामस्वरूप देखा पर्ने शारीरिक लक्षण हो, जसमा व्यक्तिमा कुनै जैविक कारण नभई शारीरिक समस्या देखा पर्छ। समूहमा रहने बालबालिकामा मानसिक दबाव, डर वा मनोवैज्ञानिक असन्तुलनका कारण यस्तो समस्या देखिने गर्छ।

यस घटनामा पनि अधिकतम बालिकामा एकैपटक लक्षण देखिएको, केहीले देखाएपछि अन्यले पनि उस्तै प्रतिक्रिया जनाएका कारण यो समूहगत कन्भर्सन डिसअर्डर भएको हुनसक्ने चिकित्सकको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

स्वास्थ्य शाखाले आज विद्यालयको पानी र वातावरणको थप अध्ययन गर्ने तयारी गरेको छ।

जरुरी सूचना :

IMG-20250427-WA0006