झापा - स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यका साथ कचनकवल गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम र कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकको औपचारिक रूपमा विमोचन गरेको छ। गाउँपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि कालेन्द्र प्रसाद सिह राजवँशी, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, शिक्षा शाखा प्रमुख मनिता बराल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


उक्त विमोचन कार्यक्रममा गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, पाठ्यक्रम निर्माण समिति सदस्य, वडाध्यक्षहरू, स्वास्थ्यकर्मी लगायतको सक्रिय सहभागिता देखिएको थियो।
स्थानीय पाठ्यक्रम निर्माणमार्फत स्थानीय इतिहास, संस्कृति, भाषा र सामाजिक संरचनालाई समेट्ने प्रयास गर्दै गाउँपालिकाले नेपालको संविधानमा प्रत्याभूत स्थानीय पाठ्यक्रम निर्माणको अधिकारलाई व्यवहारमा उतारेको छ। यस कदमलाई शिक्षा क्षेत्रको दृष्टिले ऐतिहासिक सफलता मानिएको छ।
उपलब्ध तथ्यांक अनुसार कचनकवल गाउँपालिकाले शिक्षा क्षेत्रमा पहिलोपटक स्थानीय स्तरमै पाठ्यक्रम निर्माण गरी सोही अनुरूप पाठ्यपुस्तक प्रकाशन गरेको हो। यसले बालबालिकालाई आफ्नो परिवेश, मूल्य र सामाजिक जीवनसँग प्रत्यक्ष सम्बन्धित ज्ञान प्राप्त गराउने विश्वास लिइएको छ।
स्थानीय पाठ्यक्रम निर्माण समिति सदस्य कर्ण बहादुर राजवँशीका अनुसार, "स्थानीय पाठ्यक्रम निर्माणको माध्यमबाट हामीले शिक्षा प्रणालीलाई बालमैत्री, व्यवहारिक र स्थानीय आवश्यकताअनुकूल बनाउने लक्ष्य लिएका छौं।"
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले यस प्रयासलाई उदाहरणीय र अनुकरणीय कदम भन्दै अन्य पालिकाहरूलाई समेत यस्तै अभ्यास गर्न प्रेरणा दिने बताए।
कचनकवल गाउँपालिकाको यो पहलले न केवल शैक्षिक आत्मनिर्भरतातर्फको यात्रालाई गति दिएको छ, तर स्थानीय तहमा नीति कार्यान्वयनको दृष्टान्त समेत प्रस्तुत गरेको छ।