बनियानी – कचनकवल गाउँपालिका–६(बनियानी) स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीले हालै अत्यावश्यक आकस्मिक तथा अन्य औषधिहरू प्राप्त गरेको छ। प्रदेश सरकारको विशेष पहलमा प्राप्त यी औषधिहरूको कुल लागत करिब रू. १,८३,५४३ रहेको बताइएको छ।


कोशी प्रदेश भौतिक तथा पूर्वाधार विकास राज्यमन्त्री भूमि प्रसाद राजवंशीको विशेष पहलमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरबाट औषधिहरू प्राथमिक स्वास्थ्य केन्द्र बनियानीलाई उपलब्ध गराइएको हो। यस कार्यमा व्यवस्थापन समिति अध्यक्ष रोमसाम राजवंशीको सक्रिय भूमिका उल्लेखनीय रहेको छ।
कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई तथा स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवको सिफारिसमा औषधिहरू प्राप्त गराइएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर दीपेन राजवँशीबाट जानकारी प्राप्त भएको छ। उपलब्ध तथ्यांकका आधारमा थप औषधि तथा चिकित्सकीय उपकरण उपलब्ध गराउनका लागि निरन्तर पहल भैरहेको बताइएको छ।
स्थानीय सरकार तथा प्रदेश सरकारको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सेवा तथा सुविधा विस्तार गर्ने योजना अन्तर्गत यस्ता स्वास्थ्य सामग्री उपलब्ध गराइएका हुन्। यसले ग्रामीण क्षेत्रका नागरिकहरूलाई सुलभ, गुणस्तरीय र तत्काल सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।