झापा, वैशाख १५ - शिक्षक आन्दोलनले विद्यालयको शैक्षिक गतिविधि प्रभावित भइरहेका बेला कचनकवल गाउँपालिकाले विद्यार्थीको पढ्न पाउने मौलिक हक सुनिश्चित गर्न नेपाल सरकारलाई शिक्षकहरूको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ।

नेपाल शिक्षक महासंघको आह्वानमा जारी आन्दोलनप्रति सहानुभूति प्रकट गर्दै गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको पठनपाठन ठप्प हुनु अत्यन्त चिन्ताजनक भएको जनाएको छ। विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको शिक्षाको अधिकारलाई अक्षुण्ण राख्न आन्दोलनरत शिक्षकहरू र सरकार दुबै जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।

"विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै शिक्षकहरूको समस्या समाधान गरी विद्यालयमा नियमित पठनपाठन सुनिश्चित गर्न आवश्यक छ," विज्ञप्तिमा भनिएको छ। साथै, कक्षा १२ को वार्षिक परीक्षा नजिकिएसँगै विद्यालयको वातावरण थप संवेदनशील बन्दै गएको जनाउँदै, सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन र तत्काल समस्या समाधानका लागि पहल गर्न अपिल गरिएको छ।

गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ तथा स्थानीय तहलाई समेत सरकारसँग समन्वय गरी चाँडो समाधानको वातावरण बनाउन आग्रह गरेको छ। विद्यालयहरू फर्काउन पहल भइरहेकाले नेपाल सरकार र शिक्षक महासंघबीच संवादमार्फत दीर्घकालीन समाधान खोजिनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा शिक्षासँग सम्बन्धित समस्यालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी दीर्घकालीन स्थायीत्वका लागि गम्भीर भएर कदम चाल्नुपर्नेमा जोड दिइएको छ।FB_IMG_1745841872365