काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ। आज (आइतबार) आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा बाधा पुर्याउन सरकार आफैंले षड्यन्त्र गरेको दाबी गरे।


"हामी शिक्षक हौं, लाठी छैन, केही छैन। तर शान्त आन्दोलनमा घुसपैठ गराएर सरकारले नाङ्गो रुप देखाएको छ," सुवेदीले भने, "यस्ता सरकार के, हजुरबुबा सरकार आए पनि दमन गर्न सक्दैन।" उनले हरेक शिक्षक आफ्नो हक र अधिकारका लागि ज्यान दिन समेत तयार रहेको बताए।
आइतबार बानेश्वरमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको थियो। प्रहरीले पानीको फोहरा प्रहार गर्दा १५ भन्दा बढी शिक्षक घाइते भएको महासंघले जनाएको छ। बल प्रयोगपछि आन्दोलनमा सहभागी शिक्षकहरू थप आक्रोशित बनेका छन्। महासंघले भोलि (सोमबार) राजधानीमा अझ ठूलो संख्यामा शिक्षकहरू भेला हुने जानकारी दिएको छ।
"भोलि आजभन्दा तीन गुना बढी शिक्षक काठमाडौं आउँनेछन्," सुवेदीले भने, "अहिले नै देशभरका शिक्षकहरूले फोन गरेर सहभागिता जनाउने इच्छा व्यक्त गरिसक्नुभएको छ।"
महासंघले शैक्षिक आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पुर्याउन देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई राजधानी आउन आह्वान गरेको छ। आन्दोलनका सहभागीमाथि कतिपय स्थानीय तहहरूले धम्की, सरुवा र राजीनामा दबाब दिएको भन्दै महासंघले ती गतिविधिबाट विचलित नहुन आग्रह गरेको छ।
महासंघका अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा, गुणस्तरीय शिक्षा र शिक्षक–विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक मोडमा पुगेको उल्लेख गरिएको छ। महासंघले आन्दोलनलाई अझ सशक्त बनाउँदै सरकारलाई ‘अग्रगामी ऐन’ जारी गराउन अन्तिम धक्का आवश्यक रहेको स्पष्ट पारेको छ।
नेपाल शिक्षक महासंघले २०८१ साल चैत २० गतेबाट सुरु गरेको शैक्षिक सडक आन्दोलन २५ दिन पार गरिसकेको छ। महासंघले सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई आन्दोलनलाई सफल बनाउन एकताबद्ध हुन आह्वान गरेको छ।