“जेल जान मात्र होइन, गोली खान पनि तयार छौं” भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक सिंहको अभिव्यक्तिले राजनीतिक वृत्तमा तीव्र बहसको वातावरण सिर्जना गरेको छ। आइतबार सिंहदरबार परिसरबाट प्रहरी नियन्त्रणबाट फुत्किएर बानेश्वर प्रदर्शनमा उत्रिएका सिंहले यस्तो भनाइ दिएका हुन्। अब प्रश्न उठेको छ - यो कथन बहादुरी हो कि उन्मादपूर्ण कायरता ?

सिंहले आफ्नो वक्तव्यमा सरकारलाई ‘नालायक’ भन्दै, अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको गिरफ्तारीको कडा आलोचना गरे। उनले निषेधित क्षेत्र तोड्नुअघि नै सार्वजनिक रूपमा त्यसको घोषणा गरेको दाबी गर्दै थपे, “राष्ट्र र जनताको लागि जेल जान त परै जाओस्, गोली थाप्न पनि तयार छौं।”

सिंहले यस्तो अभिव्यक्ति दिँदासम्म उनले स्वयं प्रहरी नियन्त्रणबाट जोगिएर बानेश्वरमा प्रदर्शन गरिरहेका थिए। यस्तै बेला उनको “गोली खान तयार” भन्ने बयानले दुई धारको प्रतिक्रिया जन्माएको छ।

एकातिर, उनका समर्थकहरू यो अभिव्यक्तिलाई साहस र प्रतिबद्धताको प्रतीक ठान्छन्। उनीहरूको तर्क छ- नेता त्यो हो जो जनताको हकका लागि जुनसुकै बलिदान दिन तयार हुन्छ। सिंहको अभिव्यक्तिमा जनताको पक्षमा डट्ने दृढता छ।

तर अर्कोतर्फ, आलोचकहरू भन्छन्- सिंहको शैली सनकपूर्ण र उग्र छ, जसले लोकतान्त्रिक आन्दोलनलाई हिंसात्मक दिशामा डोहोर्याउन सक्छ। संसद्को जिम्मेवार सदस्य भएर यसरी “गोली खान तयार” भन्नु लोकतान्त्रिक अभ्यासभन्दा उल्टो प्रवृत्ति भएको उनीहरूको तर्क छ।

राजनीतिक प्रतिरोधको नाममा गोली खान तयार हुँ भन्नु बहादुरी हो कि उन्मादी कायरता ? बहस खुला छ, तर मुलुकको राजनीतिमा यस्तो भाषिक शैलीले कहाँ पुर्‍याउँछ ? त्यो भने समयले बताउनेछ।