काठमाडौं – शिक्षकको जारी आन्दोलन भोलि सोमबारसम्म पनि फिर्ता नभए यस वर्षको कक्षा १२ को परीक्षा सञ्चालनमा कठिनाइ हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भए तापनि आन्दोलनरत शिक्षकहरू केन्द्रमा प्रवेश नगरेसम्म परीक्षा लिन असम्भव हुने चेतावनी दिइएको छ।


बोर्ड अध्यक्ष महाश्रम शर्माले भने, "हामी प्रश्नपत्र पठाएर परीक्षा लिन तयार छौं, तर केन्द्राध्यक्ष र निरीक्षकको भूमिकामा रहने शिक्षकहरू नै परीक्षा केन्द्रमा उपस्थित नहुँदा परीक्षा सञ्चालन असम्भव बन्छ।" उनका अनुसार सोमबारभित्र आन्दोलन फिर्ता नभए वैशाख ११ गतेदेखि सुरु हुने भनिएको परीक्षा स्थगित हुनसक्ने देखिएको छ।
परीक्षा स्थगनको सम्भावनाबीच बोर्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, जिल्लास्तरीय परीक्षा समन्वय समिति लगायतका सरोकारवालासँग छलफल जारी राखेको छ।
यसपटकको परीक्षामा नियमित, आंशिक तथा पुराना गरी कूल ५ लाख ५१ हजार विद्यार्थी सहभागी हुनेछन्। जसमा ३ लाख ९७ हजार ९७५ जना नियमित, ९९ हजार ७९३ जना आंशिक र २०५६ देखि २०७७ सम्मका ३८ हजार पुराना परीक्षार्थी छन्। परीक्षा सञ्चालनका लागि १,५९१ परीक्षा केन्द्र निर्धारण गरिएका छन्, जसमा अधिकांश सामुदायिक विद्यालयहरू परेका छन्।
परीक्षा व्यवस्थापनका लागि ४४ हजार जनशक्ति आवश्यक पर्नेछ, जसमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी र कार्यालय सहयोगी समावेश छन्। तर, शिक्षकहरू आन्दोलनमा रहेकाले परीक्षा केन्द्रहरूमा केन्द्राध्यक्षको अभाव देखिएको छ। बोर्डका अधिकारीका अनुसार उत्तरपुस्तिका केन्द्रहरूमा पुर्याइसकिएको छ भने प्रश्नपत्र अनलाइनबाट पठाइने भएकाले अन्य प्राविधिक समस्या नरहेको बताइएको छ।
नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले केही दिन परीक्षा स्थगित हुँदा ठूलो असर नपर्ने तर सरकार शिक्षकको मागप्रति संवेदनशील नभएर समस्या चुलिएको बताएका छन्। महासंघले आजदेखि सबै निजी विद्यालय बन्द गर्न पनि आह्वान गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले शिक्षकहरूलाई परीक्षा सञ्चालनमा सहयोग गर्न आह्वान गर्दै भने, "परीक्षा हुन सकेन भने देशको अन्तर्राष्ट्रिय शाखमा असर पर्छ, त्यसैले सबैले परीक्षा सञ्चालनमा सहयोग गर्न जरुरी छ।"