काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्डका अनुसार आगामी ७ चैतमा सुरु हुने परीक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका परीक्षा केन्द्रहरूमा पुगिसकेको छ भने केही ठाउँमा पुर्याउने कार्य जारी छ।


परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि आवश्यक सबै सामग्री वितरण भइसकेको छ। साथै, केन्द्राध्यक्षहरूको अभिमुखीकरण पनि सम्पन्न भइसकेको छ।
यस वर्षको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूको संख्या ५ लाख ८ हजार ३९० रहेको छ। प्रारम्भमा ५ लाख २२ हजार विद्यार्थीले परीक्षा फारम भरेका थिए। परीक्षा सञ्चालनका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ।
बोर्डका अनुसार परीक्षा केन्द्रहरूमा सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूले आवश्यक प्रबन्ध गर्नेछन्। एसईई परीक्षा शान्तिपूर्ण, मर्यादित तथा निष्पक्ष रूपमा सञ्चालन गर्न सबै तयारी पूरा भइसकेको बोर्डले जनाएको छ।