

कचनकवल-६, बनियानी – पशुपति दाहालको वार्षिकीको अवसरमा आयोजित पुराणमा आफन्तहरूले खाएको खानामा विषाक्त पदार्थको असर देखिएपछि १५ जनाभन्दा बढी बिरामी परेका छन्।
बिरामी भइ उपचारमा रहेका श्रेया दाहाल (१८), श्रेयन दाहाल (१४), सीता नेपाल (३८), विष्णुमाया ढुंगेल (५५), दिपा भट्टराई (३६), टंक प्रसाद ढुंगेल (६८), तारा भण्डारी (३९), कृष्णमाया दाहाल (१०) लगायत अन्य व्यक्तिहरूमा वान्ता हुने, झाडापखाला लाग्ने, पेट पोल्ने तथा उच्च ज्वरो आउने लक्षण देखा परेपछि उनीहरूलाई नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीको आकस्मिक कक्षमा उपचारका लागि लगिएको छ।
स्वास्थ्य केन्द्रका चिकित्सक डा. दिपेन राजवंशीका अनुसार अधिकांश बिरामीहरूको अवस्था सामान्य रहेको छ भने विषाक्त खाना नै बिरामी पर्ने कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। बिरामीहरूको उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य सुधार उन्मुख रहेको चिकित्सकहरूले जनाएका छन्।