झापा, फागुन – नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको जोखिम पहिचान गर्न "मेरो स्वास्थ्य, मेरो जिम्मेवारी" अभियान सुरु गरेको छ। हालको व्यस्त जीवनशैली, अस्वस्थकर आहार र शारीरिक निष्क्रियताका कारण क्यान्सर, मधुमेह, उच्च रक्तचापजस्ता रोगको जोखिम बढ्दै गइरहेको भन्दै सरकारले ३० वर्षभन्दा माथिका नागरिकलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेको छ।
यस अभियान अन्तर्गत फागुन महिनाभर देशभरका स्वास्थ्य संस्थाहरूमा निःशुल्क परीक्षण गराइनेछ। नागरिकहरूलाई आफ्नो स्वास्थ्य स्वयं जिम्मेवारीपूर्वक हेरचाह गर्न उत्प्रेरित गर्न यो अभियान सञ्चालन गरिएको हो।
झापाको कचनकवल गाउँपालिका स्वास्थ्य शाखाले सम्पूर्ण नागरिकलाई यो अवसरको लाभ उठाउन आग्रह गरेको छ। शाखाले स्वस्थ जीवनशैली अपनाउन सन्तुलित आहार, शारीरिक व्यायाम, तनाव व्यवस्थापन र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिन सुझाव दिएको छ।
यस अभियानलाई सफल बनाउन नागरिकहरूले परिवार र समुदायमा सन्देश फैलाउन, परीक्षण गराउन र स्वस्थ रहन पहल गर्नुपर्ने स्वास्थ्य शाखाले जनाएको छ। स्वस्थ नागरिक, स्वस्थ समाज र समुन्नत राष्ट्र निर्माणका लागि सबैको सहयोग अपरिहार्य रहेको सरोकारवालाहरू बताउँछन्।




















