बनियानी, झापा – आदिवासी समुदायको सीप हस्तान्तरण, क्षमता अभिवृद्धि तथा उत्पादनको बजारीकरणलाई लक्ष्य राख्दै झापाको कचनकवल गाउँपालिकामा आयोजित सनपाटको झल्ला (दरी) बुन्ने तालिम कार्यक्रम समापन भएको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को आयोजनामा तथा कचनकवल गाउँपालिकाको समन्वयमा माघ २१ गतेदेखि सञ्चालित उक्त तालिम फागुन ५ गते औपचारिक रूपमा समापन गरिएको हो।

समापन समारोह कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा आयोजक राष्ट्रिय युवा परिषद्को तर्फबाट अधिकृत गंगा देवी नेउपाने, गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, सामाजिक अभियन्ता भागीरथा प्याकुरेल, कार्यपालिका सदस्य उमाशंकर गणेश लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका अतिथिहरूले आदिवासी समुदायका मौलिक सीपहरूलाई प्रवर्द्धन गर्दै आधुनिक बजारसम्म पुर्‍याउने लक्ष्यसहित गाउँपालिकाले विशेष पहल गरिरहेको बताउनुका साथै प्रशिक्षार्थीलाई तालिमको प्रमाणपत्र समेत राष्ट्रिय युवा परिषदले प्रदान गरेको छ।

उक्त १५ दिने तालिम राजवंशी समाज विकास समितिको भवन आमवाडीमा सञ्चालन भएको थियो। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले सनपाटको झल्ला बुन्ने सीप सिकेका छन्, जसले दीर्घकालीन रूपमा उनीहरूको आयआर्जनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

स्थानीय सरकार तथा आयोजनाकर्ता संस्थाहरूले आदिवासी समुदायका उत्पादनलाई बजारीकरण गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहभागीहरूले पनि यस्तो कार्यक्रमले आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।