बनियानी,झापा,माघ २१ – आदिवासी समुदायको सीप हस्तान्तरण ,क्षमता अभिवृद्धि तथा उत्पादनको बजारीकरणलाई लक्ष्य राख्दै सनपाटको झल्ला (दरी) बुन्ने तालिम कार्यक्रम झापाको कचनकवल गाउँपालिकामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषदको आयोजनामा तथा कचनकवल गाउँपालिकाको समन्वयमा सञ्चालन हुन लागेको यो तालिम माघ २१ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।

तालिमको उद्घाटन कार्यक्रममा आयाेजक राष्ट्रिय युवा परिषद्का तर्फबाट उपसचिव नवराज निराैला ,कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी ,उपाध्यक्ष नवराज भट्टराई तथा वडा अध्यक्ष ग्यास अजमल मियाँ लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिहरूले आदिवासी समुदायका मौलिक सीपहरूलाई प्रवर्द्धन गर्दै आधुनिक बजारसम्म पुर्‍याउने पहल आवश्यक रहेकोमा जोड दिए ।

तालिम राजवंशी समाज विकास समितिको भवन ,आमवाडीमा सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीहरूलाई सनपाटको झल्ला बुन्ने सीप सिकाइनेछ ,जसले दीर्घकालीन रूपमा उनीहरूको आयआर्जनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

स्थानीय सरकार तथा आयोजनाकर्ता संस्थाहरूले आदिवासी समुदायका उत्पादनलाई बजारीकरण गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहभागीहरूले पनि यस्तो कार्यक्रमले आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।